ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पुल र बस्ती जोखिममा पारी माटो तस्करी” शीर्षकको समाचार छापिएको छ । गिरोहले सुनसरी र मोरङकोबीच सिमानामा पर्ने केसेलिया खोलाको पुल र सिङ्गो बस्ती जोखिममा हुने गरी अवैध रुपमा खोलाको माटो उत्खनन् गर्ने गरेको पाइएको छ । दुहबी नगरपालिका १२ बुगढरी बस्ती र विराटनगर ४ इकराई बस्ती जोखिममा पार्ने गरी अवैध उत्खनन् हुने गरेको हो । अवैध उत्खनन् भएको भन्दै प्रहरीले स्कभेटरसहित एक दर्जन माटो बोक्ने सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुहवी नगरपालिका १२ बुगढरीस्थित केसलिया खोला किनारबाट एउटा स्काभेटर, ८ वटा ट्रिपर र विराटनगर ४ इकराईबाट अवैध माटो बोकेर गन्तव्यतर्फगएका चारवटा ट्याक्टर सहित १३ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपीघनश्याम श्रेष्ठले जानकारी दिए ।

औजार : आजको औजार दैनिकमा “सडकमा कालोपत्रेदेखि जेष्ठ नागरिकसम्मलाई बजेट” शीर्षकको समाचार छापिएको छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ को ६ करोड बजेट विभिन्न शिर्षकमा विनियोजन गरिएको छ । सुनसरी क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद जयकुमार राईको अध्यक्षतामा जिल्ला समन्वय समिति सुनसरीका सभाकक्षमा बसेको निर्देशक समितिको बैठकले विभिन्न २९ वटा योजनामा बजेट विनियोजन गरिएको छ । १० लाखदेखि ७० लाखसम्म विभिन्न योजनालाई बजेट विनियोजन गरेको सांसद राईले बताए । उनका अनुसार सबैभन्दा बढी बराहक्षेत्र ५ मा निर्माण हुने बहुउद्देश्यीय सभाहललाई ७० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै धरान १६ मा निर्माण हुने थिएटर हललाई ४० लाख, धरान १५ चेम्जोङ पथलाई कालोपत्रे गर्न ३५ लाख रकम विनियोजन गरिएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “रिफरल सेन्टर नै विरामी रेफर गर्दै” शीर्षकको समाचार छापिएको छ । दक्षिण एशियाकै उत्कृष्टमध्येको एक मानिएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय आकस्मिक कक्षमा आएका विरामीलाई विभिन्न बहाना देखाएर चिकित्सकहरुले निजी अस्पतालमा रेफर गर्न थालेका छन् । पूर्वकै रिफरल सेन्टरको रुपमा स्थापना भएको प्रतिष्ठान पछिल्लो समय आन्तरिक बिचौलियाका कारण रेफर सेन्टर बन्दै गएको छ । कमिसनको लोभमा अस्पतालका डाक्टरदेखि सहयोगीसम्मले निजी संस्थामा विरामी लैजान सेटीङ गरिरहेका हुन्छन् । प्रतिष्ठानभित्र कमिसनको चलखेल र अनियमितता हुने गरेको पुष्टि यसअघि नै निवर्तमान उपकुलपति प्रा डा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ पर्नुले पुष्टि गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “रेल्वेको काम ठप्प” शीर्षकको समाचार छापिएको छ । भारतीय रेल मन्त्रालयले पैसा निकासा नगरेकाले बथनाहा–विराटनगर इण्डो नेपाल रेल प्रोजेक्टको काम ठप्प भएको छ । लामो समयदेखि रकम नआएपछि सो रेल परियोजनाको ठेकेदार कम्पनी इरकनले सो मातहतका निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसकेकाले निर्माण कार्य पूर्ण रुपमा रोकिएको हो । इरकन मातहत काम गर्दै आएका बाग्मती कन्स्ट्रक्सन, सनराइज कम्पनी, पीपी मण्डल, पीएमडी इन्फ्रा प्रोजेक्ट, महालक्ष्मी कन्स्ट्रक्सन, शिवशक्ति कन्स्ट्रक्सन आदिले भुक्तानी पाउन नसकेपछि काम रोकिएको हो ।