ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धरानमा चुनावी अङ्क गणितको रस्साकस्सी” शीर्षकको समाचार छापिएको छ । वामपन्थी किल्लालाई भत्काउन नेपाली कांग्रेसले धरानमा मतदातासँग भोट माग्न सुरु गरेको छ । उपनिर्वाचनका लागि हतारिएको धरान कांग्रेसले गत असोज २५ गते नै सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेकोले घरदैलो अभियान चलाउन सहज भएको हो । धरान उपमहानगरपालिकामा ०७५ साउन १ गते तारा सुब्बाको निधन भएपछि प्रमुख पद ििरक्त रहेको छ । निर्वाचन आयोगले धरानसहित मुलुक भरिका रिक्त बनेका अन्य स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा उपनिर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातिएको छ । पहिलो चरणमा कांग्रेसले सर्वसम्मत उम्मेदवार सिफारिस गरिएका नगरसभापति तिलक राईलाई लिएर धरान उपमहानगरपालिकाका ग्रामिण क्षेत्रका मतदाता रिझाउन घरदैलो कार्यक्रममार्फत भोट मागिरहेको छ । कांग्रेसले निर्वाचन आयोगले मंसिर १४ गते उपमनिर्वाचन गर्ने र कात्तिक १५ सम्ममा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । वामपन्थी किल्ला भत्काएर नेकपालाई चुनौती दिन कांग्रेसले दुईसाता अगाडिदेखि चुनावी अभियानलाई तीव्र बनाएको छ ।

औजार : आजको औजार दैनिकमा “छुवाछुत घटनामा मानव अधिकार आयोगको चासो” शीर्षकको समाचार छापिएको छ । मोरङको पथरीशनिस्चरे बजारमा होटलमा चिया खाँदा छुवाछुत गरेको घटना राष्ट्रिय मानव अधिकारको टोलीले अनुगमन गरेको छ । जातिय विभेद र छुवाछुत घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको एक नम्बर प्रदेश कार्यालयकी निमित्त प्रमुख गीता दाहालको टोलीले स्थलगत अनुगमन गरेको हो । आयोगकी निमित्त प्रमुख तथा अनुसन्धान अधिकृत दाहालको नेतृत्वमा गएको टोलीले छुवाछुत भएको घटना स्थल, प्रत्यक्षदर्शी, स्थानीयबासी र पिडित र पिडक पक्षसँग भेटघाट गरेर जानकारी संकलन गरेको छ । यसैगरी मुद्दाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीराज अधिकारीसँग पनि प्रगतिबारे जानकारी लिएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “पर्यटकको रोजाइमा राजारानी” शीर्षकको समाचार छापिएको छ । एकदशक अघिसम्म सामान्य रुपमा रहेको धनकुटाको राजारानी यतिबेला भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । राजारानीमा तालसहित नागबेली पार्क काली झरना निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो । एक दशक अघिसम्म तालमात्र हेर्न पाइने धनकुटाको राजारानीमा अहिले भने तालसहित नागबेली पार्क, काली झरना, गुप्तेश्वर गुफा थप आकर्षण बनेका छन् । पार्कभित्र ढुंगामा कुदेर करीब ३५ फीट लम्बाइको जोडी नागको मुर्ति बनाइएको छ । मूर्तिकार श्याम गौतमले करीब १ वर्ष लगाएर पार्कभित्रको ढुंगा खोपेर जोडी नागको आकृति बनाएका हुन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पैसा बोक्दा होस गर्नुस्” शीर्षकको समाचार छापिएको छ । नयाँ आर्थिक नियमअनुसार नेपाली रुपैयाँ पनि ५ हजारभन्दा बढी साथमा लिएर हिड्न नपाइने भएको छ । नेपालमा सयभन्दा बढी दरका भारतीय नोट त प्रतिबन्ध थिए नै, अब आफ्नै देशको पैसा पनि ५ हजारभन्दा बढी नगद साथमा लिएर हिड्न नपाइने भएको हो । प्रहरीका अनुसार हालै सशस्त्र प्रहरीले विराटनगर १० का विश्वनाथ राजवंशीलाई १० लाख २० हजार नेपाली रुपैयाँ सहित पक्राउ गरेर विराटनगर भन्सारमा बुझाइएको थियो । त्यस्तै अर्का एक व्यक्तिलाई पनि ६ लाख ६५ हजार नगदसहित भन्सार बुझाइएको छ ।