ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “औषधि पसलबाट लागूऔषध कारोबार बढ्दै”  शीर्षकको समाचार छापिएको छ । पछिल्लो समय औषधि पसलबाटै लागूऔषध कारोबार बढ्न थालेको पाइएको छ । प्रहरीले दुई साताभित्र मेडिकल हलबाट लागूऔषध खरिद गरेकाहरुलाई नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरिएको हो । मंगलबार मात्रै प्रहरीले दुहबी क्षेत्रमा सञ्चालित एक औषधि पसलबाट लागूऔषध खरिद गरेका युवाहरुलाई पक्राउ गरेको छ । उनीहरुको बयानका आधारमा सञ्चालकलाई समेत पक्राउ गरिएको छ । सोमबार सुनसरीको इटहरी ११ बाट लागूऔषधसहित २ जना पक्राउ परे । वीर मेडिकल हलका सञ्चालकलाई समेत पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका ७ का राहुल उराव र सुन्दरहरैचाँ नगरपालिका ३ का सुमन मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । औषधि पसलबाटै सेटिङ गरेर लागूऔषध बिक्री गरेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

औजार : आजको औजार दैनिकमा “उम्मेदवार बिना नै नेकपाको निर्वाचन अभियान” शीर्षकको समाचार छापिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेस सहित अन्य साना दलले उम्मेदवार घोषणा गरेपनि धरानमा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी ले अझै उम्मेदवारको टुंगो लगाएको छैन । तर चुनावी अभियान भने सुरु गरेको छ । नेकपालाई भने उम्मेदवार छनौटमा नै सकस परेको छ । आगामी उप निर्वाचनबाट मेयर बन्ने आकांक्षीहरु धेरै भएकाले पनि नेकपाले उम्मेदवार छान्न सकस परेको हो । कांग्रेसले धरान नगर सभापति तिलक राईलाई सर्वसम्मतले मेयर पदको लागि उम्मेदवार घोषणा गरिसकेको छ भने संघीय समाजवादी पार्टी नेपालले उम्मेदवार घोषणा गरेको छ तर समाजवादी गठबन्धनमा जाने संकेत गरेको छ । नेकपालाई भने उम्मेदवार छनौट गर्न सकस परेको छ । आकांक्षी धेरै भएका कारण नेपालाई सकस परेको हो । तर उम्मेदवार विना नै नेकपाले पनि चुनावी अभियान सुरु गरेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “रहस्यमय हत्यामा संलग्न दुई वर्षपछि पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोरङको रङ्गेलीमा दुई वर्षअघि निकै रहस्यमय ढङगले भएको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ असार ११ गते रंगेली न.पा ९ स्थित दर्बेसा–वनकोल जोड्ने सडक खण्डमा ६५ वर्षीया पहाडचन्द राजवंशी टाउको, घाँटी र छातीमा चोट लागि मृत अवस्थामा फेला परेका थिए । बोक्सो आरोपमा गाउँबाट विस्थापित भएका राजवंशीको शव साँझमा बजारबाट घर फर्कने क्रममा घाँटी रेटेर विभत्स अवस्थामा फेला परेको थियो । बोक्सो आरोपमा गाउँमा अपहेलित हुँदै विस्थापित भएका राजवंशीलाई प्रहरीले पुनःस्थापित गरेको थियो । मानव मलमुत्र खुवाउने प्रयास गर्दै निर्घात कुटपिट भएपछि २०६९ सालमा प्रहरीले ७ जना विरुद्ध मुद्दा चलाएको थियो । पछि दुई हजार धरौटीमा छुटेकाहरुको घटनामा संलग्नता हुनसक्ने प्रहरीको आशंका थियो । सोहीअनुरुप अनुसन्धान गरेपनि भरतलाल भने फरार भएका थिए । फरार राजवंशीको खोज ीगर्न प्रहरी एक पटक भारतसम्म पनि पुगेको थियो । सो घटनामा प्रहरीले अनुसन्धान र खोजतलास गरे पनि हत्यामा संलग्नको नजिक पुग्न सकेको थिएन । तर, निकै लामो खोजपछि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक गरेको छ ।