ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “असुरक्षित बन्दै ६ लेन सडक” शीर्षकको समाचार छापिएको छ । जोगवनी–किमाथाङ्का जोड्ने ६ लेन सडक असुरक्षित बन्दै गएको छ । पछिल्लो समयमा ६ लेन सडकमा दुर्घटनाको संख्या बढ्दो छ । पछिल्लो ६ महिनामा सडकको नालामा डुबेर २ जनाको मृत्यु भइसकेको छ । निर्माण कम्पनीले सडकछेउको नालामाथि स्ल्याव नराखेका कारण आम सर्वसाधारण जोखिम मोल्न बाध्य छन् । बीचमै अपूरो निर्माण गरी छाडिएका नालाहरु पैदलयात्रुका लागि अहिले धराप बनिरहेका छन् । सडकछेउको नामा स्ल्याव नराखिदा नाला अहिले ज्यानमारा बन्दै गएको छ । आयोजना कार्यालयको लापारबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ । खनार क्षेत्रको नालीमा आवतजावत गर्ने ८ जना खसेका छन् । जसमध्ये खनारमा पूर्वराष्ट्रिय खेलाडि शम्भु बास्तोलाको मृत्यु भएपछि खनार क्षेत्रमा स्थानीयले आपत्ति जनाएपछि स्ल्याव लाउने कुरा भएपनि अहिलेसम्म राम्ररी स्ल्याव नलगाएको खनारका स्थानीयबासी तथा व्यापारी अमृत चौधरीले बताए ।

औजार : आजको औजार दैनिकमा “असहायलाई इटहरी उपमहानगरको सहयोग” शीर्षकको समाचार छापिएको छ । एउटै घरका सबैजना सन्तान अपांगता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी २ को लक्ष्मण तामाङलाई उपमहानगर प्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । लक्ष्मण तामाङका चार जना सन्तान चारैजना अपांग छन् । १४ देखि २९ वर्ष सम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आखा देख्न सक्दैनन् । उठेर हिड्न त परै जाओस, बस्न पनि सक्दैनन् । ओल्टाई पल्टाई गर्नुपर्छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “ठेक्कामा विद्यालय जान्छन् विद्यार्थी” शीर्षकको समाचार छापिएको छ । झापा गाउँपालिका ५ का १४ वर्षीय विवेक गणेश बाह्रदशी गाउँपालिका स्थित ज्ञानज्योती अंग्रेजी विद्यालयमा अध्ययन गर्छन् । विद्यालय जादाँ बाटोमा पर्ने बिरीङ खोला तर्नका लागि उनले वार्षिक २ हजार रुपैयाँ ठेक्का बुझाउनुपर्छ । उनी बर्खामा डुङ्गा र हिउँदमा बाँसको पुलबाट खोला पार गरेर विद्यालय पुग्छन् ।