औजार : आजको औजार दैनिकमा “नोवेल मेडिकल कलेज सहितमा सम्पत्ति शुद्धीकरणको छापा” शीर्षकको समाचार छापिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारेको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबेल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज विरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । ‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको हो, मन्त्रालयले स्रोतले भन्यो, ‘विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।’ मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “आचार संहिता उल्लङ्घन गर्दै दलहरु” शीर्षकको समाचार छापिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारका क्रममा धरानका राजनीतिक दलहरुले आचार संहिता उल्लङ्घन गरेको पाइएको छ । आइतबार धरान १५ स्थित निर्वाचन अधिकृत कार्यालयले आयोजना गरेको सर्वदलिय छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले अहिलेदेखि नै आचार संहिता उल्लङ्घन हुन थालेको बताए । चुनाव प्रचार प्रसार गर्ने क्रममा आचार संहिता उल्लङघन गरेर टासिएका पोस्टर, ब्यानरहरु प्रहरीले उप्काउदै ल्याउनु परेको उल्लेख गर्दै उनले भने, ‘निर्वाचन आचार संहिता र स्थानीय तह निर्वाचन आचार संहितामा स्पष्ट हुँदा हुदै पनि धरानका धेरै ठाउँमा विभिन्न राजनितिक दलहरुले उल्लङ्घन गरेको पाइएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सुनसरीमा आकाशियो तरकारीको भाउ” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकाशिएको छ । सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकाशिएको हो । सुनसरी तरकारीका लागि उर्वर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भएपनि यहाँकै उपभोक्ता महंगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलाले बताईन् ।