काठमाडौं : भारत प्रशासित काश्मिरको शियाचिन क्षेत्रमा हिम पहिरोमा परेर चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा अन्य दुई जना भरिया रहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको टोली हिम पहिरोमा परेको बताइएको छ । हिम पहिरोमा परेर घाइते भएका ७ जनाको उद्धार गर्नुका साथै मृतकका शव पहिरोबाट निकालिएको बीबीसीमा उल्लेख छ । लामो समयदेखि जारी भारत र पाकिस्तानको सीमा विवादका कारण उक्त क्षेत्रमा लडाई भइरहेको छ ।
लगातारको वार्तापछि पनि सियाचिन क्षेत्रमा विवाद जारी छ । भारतले सन् १९८४ हिमनदी आफ्नो क्षत्रेमा रहेको दावी गरेपछि भारत र पाकिस्तानबीच सीमा विवाद चर्किएको हो । त्यसपछि लगातार भइरहेको युद्धका कारण हजारौं भारतीय र पाकिस्तानी सुरक्षाकर्मी मारिएका छन् ।
सन् २०१६ मा पनि उक्त क्षेत्रको हिम पहिरोमा परेर १० जना भारतीय सुरक्षाकर्मीको गस्ती टोलीको मृत्यु भएको थियो । त्यहाँ हिम पहिरो र भूस्खलन जाडो याममा सामान्य मानिन्छ । त्यस क्षेत्रको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्छ ।