औजार : आजको औजार दैनिकमा “विद्यार्थी कुटिएपछि अभिभावक आक्रोशित” शीर्षकको समाचार छापिएको छ । धरानको सम्यक शिक्षा आधारभुत विद्यालयमा आधादर्जन विद्यार्थी कुटिएपछि अभिभावक आक्राशित भएका छन् । सोमबार विद्यार्थीहरुले पेन्सिल तिखारेको विषयलाई लिएर विद्यालयकी शिक्षिका दिपा श्रेष्ठले कक्षा ४ मा पढ्ने प्रतिक्षा विक, आर्यन विक, शिखा विक लगायत ५ विद्यार्थी घाइते भएका थिए । कुटपिटबाट प्रतिक्षा विकको टाउकोमा रगत बग्ने गरी चोट लागेको र आर्यन विकको हातको औलामा रगत बग्ने गरी चोट लागेको थियो । अन्य विद्यार्थीको ढाड, हात लगायत शरिरमा सुम्ला तथा निलडाम बसेको थियो । पढ्नका लागि विद्यालय पठाएका आफ्ना छोराछोरी कुटिएपछि अभिभावकहरु भ्ने आक्रोशित भएका छन् । अभिभावक कुमारी विकले आफ्नो छोरी रातभर ज्वरो आएर सुत्न नसकेको बताइन् । उनले आफ्नो छोरीलाई पटक पटक विद्यालयकी शिक्षिका दिपा श्रेष्ठले कुटपिट गरेको बताईन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विदेश पठाउने भन्दै लाखौं ठगी” शीर्षकको समाचार छापिएको छ । वैदेशिक रोजगारमा पठाउने भन्दै मोरङकी एक जना महिलाले ५० जनासँग लाखौं ठगी गरेको खुलेको छ । मालदिभ्स पठाउने नाममा मोरङको सुन्दरहरैचा नगरपालिका १० दुई ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीया लक्ष्मी दाहाल बिडारीले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको घटना बाहिर आएको हो । अहिले सम्पर्कविहीन भएकी लक्ष्मीले आकर्षक कमाई हुने प्रलोभन देखाउदै वैदेशिक रोजगारीको नाममा ठगी गरेको उजुरी विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा परेपछि यो घटना सार्वजनिक भएको छ । युवाहरुबाट ठगेको रकम कुम्ल्याएर अहिले लक्ष्मी फरार बनेकी छन् । कात्तिक तेस्रो साताबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणसहित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका हुन् । लक्ष्मीले उनीहरुबाट जनही १ लाख रुपैयाँ लिएको पीडितहरुको भनाई छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “विराट राजाको दरबारमा प्रदेश र स्थानीय सरकारबीच तानातान” शीर्षकको समाचार छापिएको छ । विराटराजाको दरबार क्षेत्रको सम्बद्र्धन कसले गर्ने भन्ने विषयमा स्थानीय र प्रदेश सरकारबीच तानातान शुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यहाँ धार्मिक पर्यटहरुबाट बर्सेनि ठूलो आम्दानी लिन सकिन्छ । तर, विराट दरबार क्षेत्रमा आपसी समन्वय बिनै प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले दरबार निर्माणदेखि विकासको योजनामा आआफ्नै ढंगले यो क्षेत्रको विकास गर्ने भनेर घोषणा नै गरेका छन् । विराटनगर वडा नम्बर १८ मा दरबार क्षेत्र अवस्थित छ । विराट राजाको दरबार क्षेत्रलाई भेडियारी भनिन्छ । प्राचिन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालिन भएको मानिन्छ । धार्मिक ग्रन्थहरुमा समेत यो क्षेत्रबारे वर्णन छ । पाण्डवहरु बनबासपछि एक वर्ष गुप्ताबासका लागि विराट राजाको दरबारमा आई बसेका थिए । उबेलाको तीस चालिस कोठाको दरबार र मन्दिर जमिनमुनि रहेको विश्वास गरिन्छ । यसको सम्पूर्ण रुपमा उत्खनन् भने भएको छैन ।