औजार : आजको औजार दैनिकमा “उपनिर्वाचनमा खटिनेको २० लाख बिमा” शीर्षकको समाचार छापिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यहि मंसिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाच हजार ५५२ जनाको विभिन्न अवधिका लागि सामूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वंयसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार, उपनिर्वाचनमा संलग्नको बीस लाख रुपैयाँको बीमा गरिएको छ । उपनिर्वाचनमा मतदान केन्द्रमा दुई हजार ६८४ कर्मचारी तथा दुई हजार १३४ जना स्वयमसेवक खटिनेछन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सीमा सुरक्षामा सशस्त्रलाई समस्यै समस्या” शीर्षकको समाचार छापिएको छ । सुनसरी जिल्लाको ६२ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । उक्त क्षेत्रमा नेपाल भारत सिमाना जोड्ने साना ठूला गरी दर्जनबढी सडक छन् । जसमध्ये भण्टाबारी, लौकही र घुस्कीलाई मुख्य नाका मानिन्छ । सदरमुकाम इनरुवामा सशस्त्र प्रहरी बल सीमा सुरक्षाको कार्यालय अवस्थित छ । त्यसैगरी जिल्लाका विभिन्न नौ स्थानमा सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, चोरी पैठारी नियन्त्रणलगायतका १३ वटा सुरक्षा कार्य गर्न बिओपी स्थापना गरिएका छन् । तर, प्राप्त जनशक्ति र अपेक्षित साधन स्रोत नहुँदा सीमा सुरक्षा चुनौतिपूर्ण छ । सशस्त्र प्रहरी ऐन २०५८ ले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मा दिएको छ । तर, सीमामा सशस्त्र प्रहरीको उपस्थिति न्यून छ । जसले गर्दा सीमा क्षेत्रमा प्रभावकारी गस्ती र अपराध नियन्त्रणमा समस्या आउने गरेको सशस्त्र प्रहरीको भनाई छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कार्यादेश ढिलाई हुँदा पाँचथरमा बेरुजु रकम वृद्धि” शीर्षकको समाचार छापिएको छ । पाँचथरको स्थानीय तहमा गत वर्षभन्दा यस वर्ष बेरुजु रकममा वृद्धि भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा आठ स्थानीय सरकारहरु बेरुजु रकमको बोझले थिचिएको महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनबाट खुलेको छ । पाँचथरका सबै स्थानीय तहहरुको बेरुजु रकम एक करोड रुपैयाँभन्दा माथि रहेको छ । पाँचथरको सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा यो आर्थिक वर्षमा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । फिदिम नगरपालिकामा ५ करोड ५१ लाख रुपैयाँ बेरुजु देखिएको छ भने सबैभन्दा कम कुम्मायक गाउँपालिकामा १ करोड २१ लाख रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै फालेलुङ गाउँपालिकामा ४ करोड ७८ लाख रुपँयाँ, तुम्बेवा गाउँपालिकामा ३ करोड ८१ लाख, मिक्लाजुङ गाउँपालिकामा २ करोड १३ लाख, फाल्गुनन्द गाउँपालिकामा २ करोड ५७ लाख र याङबरक गाउँपालिकामा १ करोड ६७ लाख रुपैयाँ बेरुजु देखिएको छ । धेरै स्थानीय सरकारका प्रमुखहरु पेश्की रकमका कारण बेरुजु देखिएको बताउँछन् । आर्थिक वर्षको अन्तिमतिर विभिन्न योजनाको कार्यादेश आउने भए पनि बेरुजुु रकममा वृद्धि भएको जानकारहरु बताउँछन् । समयमै बजेट आउन नसक्दा पनि बेरुजु रमकमा वृद्धि भएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दहालले जानकारी दिए ।