काठमाडौं : केन्यामा भारी वर्षासँगै आएको पहिरोमा परेर सात जना बालबालिकासहित २९ जनाको मृत्यु भएको छ ।
केन्याको वेस्ट पोकोट काउन्टी शहरमा पहिरोले ठूलो क्षति र्पुयाएको छ । त्यसैगरी केन्याको न्यूर्कुलियन र पारुआ गाउँका अधिकांश घरहरु पहिरोले बगाएको छ । पहिराले ती गाउँ आवातजावत गर्ने सडक र पुलमा क्षति पुगेको बीबीसीले जनाएको छ ।
यसैबीच केन्याका राष्ट्रपति उहुरु केन्याट्टले पहिरोमा परि मृत्यु हुनेहरुको परिवारप्रति समवेदना प्रकट गर्नुका साथै उद्धार र राहत वितरण कार्यमा कुनै कमी हुन नदिन प्रतिवद्धता जनाएका छन् ।
यता गृहमन्त्री फ्रेड मट्याले उद्धारकार्यहरु भइरहेपनि भारी वर्षका कारण समस्या भएको बताए । केन्याका मौसमविद्हरुले यही नोभेम्बर १८ मा नै भारी वर्षा र पहिरो आउन सक्ने भन्दै यसअघि नै सचेत रहन आग्रह गरेको थियो ।