औजार : आजको औजार दैनिकमा “उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता” शीर्षकको समाचार छापिएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । जसमा २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० पुरुष मतदाता छन् भने अन्य दुई तेश्रोलिङ्गी मतदाताले पनि मतदान गर्नेछन् । बुधबार आयोगले निर्वाचनको तयारीबारे जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै प्रतिनिधि सभातर्फ ११, प्रदेश सभातर्फ १५ र स्थानीय सदस्यका लागि २० राजनीतिक दल प्रतिस्पर्धामा रहेने जानकारी दिए । प्रतिनिधि सभाको निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नंबर २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् भने प्रदेश सभा तर्फ भक्तपुरमा ४५ हजार १५ जना, बागलुङमा ३५ हजार १ सय ८४ र दाङमा ६८ हजार ७ सय १९ गरी २ लाख २० हजार ७८९ मतदाता रहेका छन् । यस्तै स्थानीय तहतर्फ २ लाख ३३ हजार ३ सय २५ मतदाता रहेका छन् । २०७४ सालमा भएको निर्वाचनपछि उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार २ सय १९ मतदाता थापिएको आयोगले जनाएको छ । उपनिर्वाचन हुने ३७ जिल्लाका २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षाकर्मीहरु आवश्यक मतदानका सामग्री सहित आज साँझसम्म मतदान केन्द्रमा पुगिसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् । उपनिर्वाचनमा प्रतिष्पर्धा गर्ने ३ सय ३३ उम्मेदवार मध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना गरी कूल २ सय ७३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यो निर्वाचनमा आयोगका कर्मचारीका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय र अधिकृतको कार्यालयमा ३ सय ५४ जना कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २ हजार ६ सय ६८ कर्मचारी, २ हजार १६ जना स्वंयसेवक गरी ५ हजार ५४ जना खटिएका छन् । यस्तै मतदाता शिक्षाका लागि उपनिर्वाचन हुने १ सय ५५ वडामा २ जनाका दरले ३ सय १० जना खटाएको आयोगले जनाएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “स्थानीयले भत्काइदिए महानगरको नाला” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका १५ स्थित हरिनगरा भट्टामा निर्माण भइरहेको सहायक सडकको नाला मापदण्डविपरित काम भएपछि स्थानियले भत्काइदिएका छन् । तोकिएको भन्दा मापदण्डविपरीत नालाको निर्माण भएपछि स्थानीयले भत्काइदिएका हुन् । उपभोक्ता समितिमाफर््त एकसाता अगाडिदेखि विराटनगर १५ स्थित हरिनगरा भट्टामा नाला निर्माणको काम भइरहेको छ । १२ लाख रुपैयाँमा गोपाल शाह अध्यक्ष रहेको उपभोक्ता समितिले गत असारमा विराटनगर १५ को वडा कार्यालयसँग सम्झौता गरी एकसाता अगाडीदेखि नाला निर्माणको काम सुरु गरेको हो । १० सेन्टिमिटरको नालासहित १४ फिटको रड लगाएर ८७ मिटरको आरसिसि ढलाई ०७६ मङ्सिर अन्तिमसम्ममा सक्ने गरी काम सुरु भएको थियो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ” शीर्षकको समाचार छापिएको छ । भोजपुरको सेमेङ घटनामा महिलाको दुवै स्तन काटेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । गत बुधबार नकावधारीको समूहले खकुवाखोलामा लुगाधुन गएकी सुब्बा तमाङको अन्दाजी ३३ वर्षीया श्रीमती बिना तामाङको स्तन काटेर फरार रहेका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–८ सेमेङका स्थानीय ३४ वर्षीय गोविन्द राईलाई पक्राउ गरिएको हो । पक्राउ पछि प्रहरी कार्यालय भोजपुर लगिएको आरोपित राईमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिए । बिनाको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।