औजार : आजको औजार दैनिकमा “धरानमा उपनिर्वाचनको तयारी पुरा” शीर्षकको समाचार छापिएको छ । मंसिर १४ गते धरानमा हुने मेयर तथा वडाध्यक्षको पदका लागि हुने उपनिर्वाचनको तयारी पुरा भएको छ । मतदान केन्दं्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानको लागि खटिने कर्मचारीलाई सम्पूर्ण तालिम दिएर मतदान केन्द्रतर्फ पठाइसकिएको बताएका छन् । साथै उनले विहीबार देखी नयाँ मतदाता परिचय पत्र वितरण समेत सुरु गरेको छ । धरानको उपनिर्वाचनका सबै प्रकृया पुरा गरेर यहाँ रहेका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित केन्द्रमा खटाइसकिएको छ । उनले निर्वाचनको लागि उच्च सुरक्षाको व्यवस्था गरिएको र मतदानको वातावरण समेत अनुकुल भएकोले सबै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न आह्वान गरेका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विर्तामोड भद्रपुर रोडको ठेकेदार परिवर्तन” शीर्षकको समाचार छापिएको छ । निर्माण सुस्त भएको भन्दै चर्को दबाब आएपछि आशिष प्रेरा जेभीले विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको ठेकेदार कम्पनी परिवर्तन गरेको छ । ठेकेदार कम्पनी परिवर्तनपछि पुरानो बक्यौता भुक्तानी गर्न बाँकी रहेको भन्दै युवासंघको एउटा टोलीले निर्माण रोक्न दबाब दिएको पाइएको छ । झापा सिटि कन्ट्रक्सनका प्रोपाइटर तथा राष्ट्रिय युवासंघका जिल्ला अध्यक्ष शम्भु भण्डारी, प्रदेश सदस्य राजकुमार थापालगायतले पुरानो हिसाब चुक्ता गरेर निर्माण शुरु गर्न दबाब दिएका हुन् । आशिष प्रेरा जेभीले यही वर्षको पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता गर्दै चार लेनको यो सडक ठेक्का लिएको थियो । निर्माण कम्पनीले राजकिशोर गुप्तालाई पेटी कन्ट्रयाकमा ठेक्का दिएको थियो ।