ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बलात्कार आरोपी कृष्णदास किन पक्राउ परेनन् ?” शीर्षकको समाचार छापिएको छ । अनुयायी महिलामाथि बलात्कार आरोप लागेका सुनसरीको बराह नगरपालिका १ चतराधामस्थित आश्रममा बस्दै आएका सिद्धबाबा कृष्णदास पक्राउ परेका छैनन् । उनलाई सुनसरी अदालतले प्रहरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति तीन दिन भएको छ । एकजना योग साधक महिलाले कृष्णदासमाथि बलात्कार गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति शुक्रबार लिएको हो । पक्राउ अनुमति लिएको दुईदिन बितिसक्दा पनि बलात्कारको अभियोग लागेका सिद्धबाबा कृष्णदासलाई भने प्रहरीले शनिबार रातिसम्म पनि पक्राउ गरेको छैन । जाहेरीअनुसार प्रमाण बुझ्ने काम भइरहेको भन्दै सुनसरी प्रहरीले छिट्टै पक्राउ गर्ने जनाएको छ । ‘बलात्कार गरेको भन्ने महिलाको जाहेरी प्राप्त भएपछि हामी अनुसन्धान गरेर प्रमाण संकलनमा लागिरहेका छौ’ सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले भने, ‘अदालतबाट पक्राउको आदेश लिइसकेका छौ । पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौ ।’

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “पाथीभरा म्याराथुन तथा मेचाी पर्यटन महोत्सव फागुनमा” शीर्षकको समाचार छापिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का अबसरमा आगामी फागुनमा हुने पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवमा हेलिकप्टर मार्फत कञ्चनजंगा हिमश्रृंखला सहितका पर्यटकिय क्षेत्रको अवलोकन गर्न पाईने भएको छ । फागुन ९ देखि १३ गतेसम्म ताप्लेजुङमा हुने महोत्सवमा म्याराथन सहित विभिन्न खेलकुद प्रतियोगिताका साथै जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन लगायतका कार्यक्रम राखिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “नेपाल र भारतमा लागू औषध तस्करीको सञ्जाल” शीर्षकको समाचार छापिएको छ । गत बुधबार भारतको पटनामा भारु ५ करोड मूल्य बराबरको खैरो हेरोइन जफत गरेकै समयमा झापामा पनि ५ सय ७० ग्राम खैरो हेरोइन नेपाल प्रहरीले जफत गरेको छ । झापाको गौरादह नगरपालिका ३ धोबिनियाबाट वर्ष ३२ का सुनील बराललाई पक्राउ गरेको हो । त्यसैगरी दमकको भाञ्जा होटलबाट २७ वर्षीय टुटल भनिने रिन्टु सेखलाई पनि नेपाल प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो ।