ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विद्यार्थी विरामी भएपछि विद्यालयमै धामी राखियो” शीर्षकको समाचार छापिएको छ । मोरङको बेलबारी ६ बोराबाँधस्थित वीरेन्द्र माध्यमिक विद्यालयका दर्जनभन्दा बढी बालिका लगातार तीनदिनसम्म एकाएक मुर्छा पर्ने, हातखुट्टा चिसो अनि लल्याकलुलुक हुने र चिच्याएर रुने गरेपछि शनिबार राति विद्यालयमा धामी बसाएर जोखाना हेर्ने काम भएको छ । विद्यालयपरिसरमै रहेको शौचालय गएर कक्षाकोठा फर्कने बित्तिकै कक्षा ४, ५ र ६ मा अध्ययनरत दर्जन बढी छात्रामा लगातार तीन दिनसम्म त्यस्तो लक्षण देखापरेपछि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले शुक्रबार सबै विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर समस्या सुनायो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवल राईका अनुसार लगातार तीन दिनसम्म त्यस्तै लक्षण देखापरेपछि पीडित छात्राका अभिभावक पनि आए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “ल्याबका कर्मचारीले गर्छन् एक्सरे” शीर्षकको समाचार छापिएको छ । अस्पतालहरुमा चिकित्सक लगायत कर्मचारीहरुको लापरबाहीले विरामीको ज्यान जाने घटनाहरु ब्ढ्दै गएको छ । अझ सरकारी अस्पतालहरुमा दक्ष चिकित्सकहरु नहुँदा विरामीहरुले सहज उपचार पाउन सकिरहेका छैनन् । सरकारी अस्पतालका चिकित्सक, दक्ष विशेषज्ञहरु विदामा बस्दा उनीहरुको सट्टामा काम गर्ने अरु नहुँदा सामान्य कर्मचारीहरुबाटै सेवा लिन बाध्य छन् । यसैबिच जिल्ला अस्पतालको रुपमा रहेको इनरुवा अस्पतालमा रेडियोग्राफर नहुँदा ल्याबका कर्मचारीले एक्सरे गर्दै आएको पाइएको छ । इनरुवा अस्पतालमा डिजिटल एक्सरे र भिडियो एक्सरे मेसिन रहेपनि दुबैको लागि आवश्यक दक्ष जनशक्ति नहुँदा विरामीको जीवनसँग खेलबाड हुने ढंगले सेवा प्रवाह गर्दै आएको अस्पताल स्रोतले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “कृष्णदास आईसीयुमा” शीर्षकको समाचार छापिएको छ । आफ्ना महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका चतराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी आईसियुमा भर्ना भएका छन् । केही दिनदेखि विराटनगर अस्पतालमा भर्ना भएका गिरीलाई प्रहरीले पक्राउ गर्न लागेपछि आइतबार मध्यान्ह उनलाई आईसियु वार्डमा सारिएको हो । आईसियु वार्डको १० नम्बर बेडमा बसेका गिरीलाई हृदयघात भएको बताइएको छ । चतराधामस्थित आश्रममा पुगेकी एक महिलालाई उनले बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गर्न खोजेको थियो । प्रहरीमा उजुरी दर्ता भएलगत्तै उनी अस्पताल भर्ना भएका थिए ।