ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “फरार अभियुक्त ६ महिनापछि पक्राउ” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका क्षेत्रमा शृङ्खलाबद्ध लुटपाट गर्ने फरार अभियुक्तलाई अदालतले कैद सजायको फैसला सुनाएको ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रमा दिनदहाडै लुटपाटको धन्दा चलाउने विराटनगर १० का २४ वर्षीय शिवराज चौधरीलाई अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको ६ महिनापछि पक्राउ गरेको हो । मोरङ जिल्ला अदालतले चौधरीलाई २०७६ जेठ १३ गते ३० हजार जरिवाना र २ वर्ष ११ महिना ३ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएपछि फरार भएका चौधरीलाई विरानटनगर १० शान्तिचौकबाट पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “षडानन्दलाई राष्ट्रिय विभुति घोषणा गरिने” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभुति घोषणा गरिने बताएका छन् । बालागुरुको १८५ औ जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने धारणा राखे । षडानन्दलाई राष्ट्रिय विभुति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउदै मुख्यमन्त्री राईले भने, ‘उहाँको योगदानको सम्मानका लागि राष्ट्रिय विभुति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइरहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउछु ।’ सो अबसरमा उनले प्रदेश १ सरकारको अनुदानमा करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास गरे । मुलुकमा सती प्रथा अन्त्य गर्न र शिक्षाको ज्योति छर्न बालागुरुको योगदान रहेको छ ।