औजार : आजको औजार दैनिकमा “धरानबाट हेलिकप्टरमा तिर्थयात्रा” शीर्षकको समाचार छापिएको छ । पूर्वको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसी थानमा दर्शन गर्नकालागि हेलिकप्टर सञ्चालन हुने भएको छ । धरान होलिडेज र माउण्टेन हेलिकप्टर्स प्रालिले धरानदेखि पाथीभरा दर्शन, हलेसी दर्शन, धरानको साइड सिन, माउण्टेन फ्लाइट र हेलिकप्टर चार्टरको प्याकेज सार्वजनिक गरेको छ । बिहीबार धरानको होटल पूर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै धरानदेखि पाथीभरा दर्शन र हलेसी दर्शनकोलागी ३४ हजार, धरानको साइड सिनकालागी ५ हजार लगायतको प्याकेज सार्वजनिक गरेको छ । पाथीभरा र हलेसी दर्शनकालागि धरान, विराटनगर लगायत भारतको दार्जि्लिङ, सिक्किम तथा भुटानदेखिका भक्तजनको अत्याधिक भिड लाग्ने गरेको भन्दै त्यसको सहजताका लागि आफुहरुले हेलिकप्टरको व्यवस्था गरेको माउण्टेन हेलिकप्टरका महाप्रबन्धक दिलबहादुर ओलीले बताए । उनका अनुसार पाथीभरा तथा हलेसी दर्शन गरेर २ घण्टामा धरान फर्किइ सकिने छ । अहिले धरान रंगशालाको तल्लो भागबाट उडान भर्ने व्यवस्था मिलाइएको उनले बताए । होलिडेज धरानका सञ्चालकहरु कुन्दन श्रेष्ठ, अमृत मानन्धर, त्रिरत्न अधिकारी र अजय खनालको प्रयासमा धरानबाट हेलिटुरको व्यवस्था मिलाइएको हो । क्याप्टेन शैलेन्द्र बस्नेतले भने फेब्रुअरीको मध्यसम्म मौसमले साथ दिने भएकोले त्यस समय अवधीभर हेली टुर गराइने छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश सरकारको काम कछुवाको गतिमा : नेता कोइराला” शीर्षकको समाचार छापिएको छ । एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षि दलका नेता राजिव कोइरालाले प्रदेश सरकारको काम कछुवाको गतिमा अगाडि बढिरहेको बताएका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मा रहेको मारिया खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन् । उनले प्रदेश सरकारको कछुवाको गतिमा भइरहेका कारण प्रदेशको विकास निर्माणको कार्य सोचेजस्तो गतिमा नभएको बताए । उनले प्रदेश सरकारले २ वर्षको अवधिमा ५ सयि मिटर मात्र कालोपत्रेको काम गर्नुले समेत प्रदेश सरकारको काम कस्तो गतिमा भइरहेको छ भन्ने प्रष्ट भएको बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “खैरो हेरोइनसहित तीन पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोरङ प्रहरीले सीमावर्ती भारतको जोगवनीबाट पैदलै नेपालतर्फ आइरहेका तीनजनालाई खैरो हेराइनसहित पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट कटेर पैदलै नेपालतर्फ आइरहेका विराटनगर ६ का २९ वर्षीय अनुज खत्रीको साथबाट १ दशमलव ६ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो । खत्रीले लगाएको जम्फरको टोपीमा लुकाई छिपाई उक्त परिमाणको खैरो हेरोइन ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका खत्रीको प्रारम्भिक बयानका आधारमा उक्त लागुऔषध खैरो हेरोइनको ओसारपसारमा संलग्न विराटनगर ६ कै २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका १० का ४१ वर्षीय तेजबहादुर लिम्बुसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउजुले बताए ।