औजार : आजको औजार दैनिकमा “जनताले उपनिर्वाचन मार्फत सुझाव दिएः नेता नेपाल” शीर्षकको समाचार छापिएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको काम कारबाही, उम्मेद्वारको चयनलगायत भएको बताए । उनले जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नुपर्ने बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ताप्लेजुङमा हिमपातका कारण जनजीवन प्रभावित” शीर्षकको समाचार छापिएको छ । शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । जिल्लाभर वर्षा भइरहेको छ भने उच्चक्षेत्रमा हिउँ पर्नेक्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङमा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयबासीको जनजीवन कष्टकर बनेको छ । ‘बाहिर एक फुटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्नेक्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन, घुन्साका टाँसी तेन्जिङ शेर्पाले भने । उत्तरी क्षेत्रका करिब तीन हजार मिटरभन्दा माथिको हिमाली भेगमा लगातार हिमपात भइरहेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “दमकलको अवस्था बिग्रदो: आगालागी हुँदा कर्मचारीलाई समस्या” शीर्षकको समाचार छापिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेका दमकलको अवस्था जीर्ण बन्दै गर्दा व्यवस्थापनमा पनि कमजोरी रहेकाले आगलागी हुँदा समस्या हुने गरेको छ । इटहरी तथा अन्य सहरी क्षेत्रहरुमा बढ्दो जनघनत्व र साँघुरा सडक खण्डका कारण आगलागीको जोखिम बढ्दै गएको छ । तर नगरमा आगलागी नियन्त्रणका लागि खरिद गरिएको ४५ सय लिटर पानी क्षमता भएको दमकलको पाइप फुटेर बिग्रिएपछि एकमात्र दमकलले सेवा प्रदान गर्नुपर्ने बाधयता रहेको छ । स्थानीयले समयमा दमकल पुग्न नसक्दा ठुलो क्षति हुने गरेको बताएपनि हावा भरेर गाडी स्टार्ट गर्नुपर्ने तथा दमकल भएको स्थान र कर्मचारीको आवास केही टाढा भएको कारण ढिला हुने गरेको कर्मचारीहरु बताउँछन् । कमचारीहरुका सामान्य खालको ज्याकेटको प्रयोगमा शरिर पोल्ने भएकाले कर्मचारी नजिक पुग्नै नसक्दा पनि बढी क्षति हुने गरेको छ ।