ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सिद्धबाबाको डिलक्स रुम नै हिरासत” शीर्षकको समाचार छापिएको छ । महिला बलात्कारको आरोपमा उजुरी परेपनि हालसम्म प्रहरी हिरासतमा नपरेका बराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवापिठका मठाधीस कृष्णबहादुर गिरी अस्पतालको डिलक्स रुमलाई भिआइपी हिरासत बनाउन सफल भएका छन् । आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगतगुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा उपचाररत छन् । प्रहरीले एक महिलाले आफुलाई बलात्कार गरेको किटानी जाहेरी नै दिएपछि उजुरी दर्ता गर्दै बलात्कार अनुसन्धान गर्न हिरासतमा राख्न सक्ने भएपछि उनी रातारात विराट नर्सिङ होमको स्त्री तथा प्रसुति विभागको पाँच नम्बर बेडमा भर्ना हुन पुगेका थिए । पहिलो पटक ७ दिनको, दोश्रो पटक ४ दिनको र पछिल्लो पटक ३ दिनको मात्र म्याद थप भएपनि उनी सर्वसाधारण राखिने हिरासतमा बसेका छैनन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “रामचन्द्र पौडेललाई कार्यकर्ताको प्रश्न” शीर्षकको समाचार छापिएको छ । काठमाडौं कांग्रेस केन्द्रिय समितिको बैठक बहिष्कार गरेर विराटनगर आइपुगेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल आइतबार हेलिकप्टरबाट पाथीभरा देवीको दर्शन गर्न पुगे । उनी शनिबार साँझ नै विराटनगर विमानस्थल ओर्लिएका थिए । एकरात कोइराला निवासमा बास बसे । विहानै ताप्लेजुङस्थित पाथिभरा स्थित पाथिभरादेवीको दर्शन गर्न पुगे र आइतबार दिउँसो विराटनगर फर्किए । यही शन्दर्भ पारेर मोरङको कांग्रेसले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट आयोजना गर्यो । भेटघाटमा सहभागी भएका कांग्रेसजनले नेता पौडेललाई खराखर प्रश्न गर्दै पार्टिको भाविकार्यदिशा, निति नियम र गुटबन्दीबारे जिज्ञासा राखे । अधिकांशको सहभागीको प्रश्न थियो ‘पार्टिको महाधिवेशन कहिले हुन्छ ?’ छलफलमा सहभागी प्रदेश १ प्रदेशसभाका कांग्रेस प्रमुख सचेतक केदार कार्कीले कांग्रेस नितिनियम भन्दा पनि मनखुशी ढंगले संचालन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउँदै प्रश्न गरे, ‘पार्टीका गुटउपगुटको राजनिति धेरै भयो । केन्द्रिय कमिटिको बैठक नै बहिष्कार गर्ने अवस्था आउनु राम्रो संस्कार भएन ।’

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “अझै बनेन टेंग्रा पुल” शीर्षकको समाचार छापिएको छ । पूर्वपश्चिम राजमार्गलाई जोड्ने इटहरीको टेंग्रापुल पछिल्लो एक वर्षदेखि जोखिमपूर्ण अवस्थामा छ । पुननिर्माण हुने हुने भन्दै सम्बन्धित निकायले एकवर्ष लगायो तर अझै एक छेउ पनि काम सुरु गरेको छैन । निर्माण हुने र नहुने बिच विवाद भइरहँदा पुल भने सधै चर्चामा रहँदै आएको छ । मिडियामा व्यापक टिप्पणी र आलोचनाको विषय बन्दै आएपनि त्यसको कुनै प्रभाव सम्बन्धित निकायलाई परेजस्तो देखिन्न । टेंग्रापुल मर्मत सम्भारको प्रतिक्षामा अझ जिर्ण बन्दै गएको छ ।