औजार : आजको औजार दैनिकमा “धरानबाट हेलिकप्टरमा पाथीभरा र हलेशी दर्शन सुरु” शीर्षकको समाचार छापिएको छ । पूर्वका प्रसिद्ध तिर्थस्थल ताप्लेजुङको पाथिभरा र खोटाङको हलेशी दर्शनका लागि धरानबाट हेलिकप्टरले सेवा सुरु गरेको छ । धरान होलिडेजको व्यवस्थापनमा माउण्टेन हेलिकप्टर्स प्रालिले धरानको रंगशालाबाट तिर्थयात्राको लागि उडान भर्न थालेको हो । साथै धरानको दृष्य हेर्न फन फ्लाइट त्यस्तै गरी पर्यटकीय स्थल गुफापोखरी, श्रीअन्तु, कञ्चनजंगा बेस क्याम्प, मकालु बेस क्याम्पसम्मको उडान भर्ने प्याकेज रहेको धरान होलिडेजका सञ्चालक अमृत मानन्धरले बताए । सोमबारदेखि औपचारिक रुपमा सुरु गरिएको हेलिकप्टर उडानको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् । उद्घाटनका अबसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायतले हेलिकप्टरबाट धरानको दृष्यवलोकन गरेका थिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “शिक्षिकालाई सहायक प्रअको अश्लिल म्यासेज” शीर्षकको समाचार छापिएको छ । आफ्नै सहकर्मी शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लास्थित भगवती माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक दुर्गा प्रसाद पौडेलविरुद्ध प्रहरीमा उजुरी परेको छ । सहायक प्रध्यानाध्यापक पौडेलले सहकर्मी शिक्षिकालाई सामाजिक सञ्जालमार्फत अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उजुरी परेको हो । पौडेलले म्यासेज पठाएसँगै उनी कानुनी र व्यवहारिक समस्यालाई छल्न एक महिनादेखि फरार छन् । शिक्षक पौडेलबाट मानसिक रुपमा सताइदै आएकी मिक्लाजुङ मधुमल्लाकी २१ वर्षीया शिक्षिका र उनका परिवारले सोमबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले उनलाई अश्लील म्यासेज लेखेको पाइएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बन्द उद्योग सञ्चालनको कार्ययोजना बन्दै” शीर्षकको समाचार छापिएको छ । उद्योग राज्यमन्त्री मोती दुगडले बन्द उद्योग सञ्चालन गर्ने कार्ययोजना बन्दै गरेको बताएका छन् । उनले रुग्ण उद्योगलाई सञ्चालन गरेर नाफामा लैजाने बताए । विराटनगरस्थित निजी कार्यालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री दुगडले उद्योग सञ्चालकहरुसँग कार्ययोजना माग गरिए जानकारी दिए ।