औजार : आजको औजार दैनिकमा “सुनसरीमा भुस्याहा कुकुरको आतंक” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित आसपासका गाउँपालिका क्षेत्रमा भुस्याहा कुकुरको आतंक बढेको छ । एक महिनायता भुस्याहा कुकुरको आतंक बढेपछि स्थानीयहरु आतंकित बनेका छन् । कुकुरको प्रजनन् मौसम र अर्कोतिर छाडा रुपमा रहेका भुस्याहा कुकुरले स्थानीयलाई टोक्न थालेपछि इनरुवा सहित दक्षिणवर्ती क्षेत्रका स्थानीयहरु आतंकित बनेका हुन् । मङ्गलबार मात्रै २२ जनालाई एकसाथ भुस्याहा कुकुरले टोकेपछि थप कुकुर आतंक बढेको बताइएको छ । एक महिना यता दैनिक दुईदेखि वीस जना बढीलाई भुस्याहा कुकुरले टोक्न थालेपछि स्थानीयहरु कुकुरबाट त्रसित बनेका छन् भने अस्पतालमा कुकुरको टोकाइबाट घाईते भएर आउने अस्पतालले जनाएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दशगजाबाट अतिक्रमण हटाउने सहमति” शीर्षकको समाचार छापिएको छ । नेपाल भारत संयुक्त सुरक्षा बैठकले दशगजाबाट अतिक्रमित संरचना हटाउने सहमति गरेको छ । भारत बिहारको सुपौल जिल्लास्थित भीमनगरमा मङ्गलबार सम्पन्न संयुक्त सुरक्षा बैठकले नेपाल भारत दसगजा क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिने सहमति गरेको हो । सुनसरीबाट हराएका २३ वटा सीमास्तम्भ खोजी गर्ने र दशगजामा बनाइएका भौतिक संरचना हटाउने सहमति भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कायर्षलय सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कृष्णदास प्रकरणः हिप्नोटाइज गरी जवरजस्ती करणी गरियो” शीर्षकको समाचार छापिएको छ । शिद्धबाबा भनिने कृष्णदास गिरीमाथि जवरजस्ती करणीको जाहेरी दिने महिलाले आफू हिप्नोटाइज (सम्मोहन) गरी करणी गरेको दाबी गरेकी छन् । गत कार्तिक ४ गते सुनसरीको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको गिरी बस्ने निजि आश्रममा बोलाएर करणी गरेको महिलाको दाबी छ । महिलाका अनुसार आफुलाई आश्रममा दर्शन दिने भन्दै बोलाएर हिप्नोटाइज गरी आश्रमको सोफामा जवरजस्ती करेको बताउछिन् ।