औजार : आजको औजार दैनिकमा “सूर्योदयमा चिया परीक्षण केन्द्र निर्माण हुने” शीर्षकको समाचार छापिएको छ । इलामको सूर्योदयन गरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्योदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सुर्योदय नगरपालिकाबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् । दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “निकासी शुल्क बढेपछि व्यवसायी आन्दोलित” शीर्षकको समाचार छापिएको छ । खोलाजन्य सामग्रीको निकासी शुल्क गतवर्षको तुलनामा दोब्बर बनाएपछि झापाको मेचिनगरका व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीले निकासी शुल्क घटाउन नगरपालिकासँग माग पनि गरेका छन् । नगरक्षेत्र भएर बग्ने खोलाबाट सामग्री उत्खनन्, संकलन र निकासी गर्दा असुल गर्ने शुल्क दोब्बर बनाएपछि व्यवसायीले त्यसको विरोध गरेका हुन् । गतवर्ष २ सय ५० रुपैया प्रतिट्याक्टर कर तिरेकामा यसवर्ष ४ सय २५ रुपैयाँ असुल गर्न थालिएको व्यवसायी देवेन्द्र अर्यालले बताए । उनले यो वर्ष मिक्सागिट्टी को ३ सय ५० बाट ६ सय ७८ र बालुवाको ३ सय ८५ बाट ५ सय ५० रुपैयाँ तिर्नुपरेको जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कृष्णदास प्रकरणः अधिवक्ताबीच कुटाकुट” शीर्षकको समाचार छापिएको छ । सोमबार सुनसरी जिल्ला अदालत परिस भित्र रोचक घट्ना घट्यो । चौथो पटक म्याद गर्न ल्याइएका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जब ७ दिनको म्याद थप गर्यो तब अदालत परिसरभित्र रहेका अधिवक्ताहरुबिच मुद्दाको विषयमा तर्कबाजी गर्दा हात हालाहालको स्थिति बन्यो । अदालत परिसर भित्रै रहेको सुनसरी बार एशोशिएशनको भवनमा रहेका अधिवक्ताहरुबीच गिरीमाथि लागेको अभियोगमा अब अदालतले के गर्छ भन्ने विषयमा तर्कबाजी भइरहेको थियो । त्यसैक्रममा अधिवक्ताहरुद्धय अशोक मेहता र नोदराज आचार्यबीच एक्कासी हातहालाहाल भयो । अदालत परिसरभित्र रहेका सेवाग्राहीहरुको समेत दुबैको विवाद हेर्नका लागि भीड नै लाग्यो । नभन्दै दुबैजना बारको भवन परिसरको भुइमै लड्न थाले । अन्य अधिवक्ताहरु दुबैलाई छुट्याउन थाले । तर झगडा साम्य हुन नसकेपछि अदालत सुरक्षामा रहेका प्रहरीबारको कार्यालय पसेर दुबैलाई छुट्याउनु परेको थियो ।