काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्तावमाथि अमेरिकी संसदको तल्लो सदनमा अहिले मतदान जारी छ ।

प्रस्ताव पारित भए ट्रम्पलाई महाभियोग लाग्नेछ भने माथिल्लो सदन सिनेटमा यसमाथि सुनुवाई सुरु हुनेछ । मतदान अघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा तातो बहस भएको थियो ।

बहसको सुरुमा बोल्दै सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएकाले महाभियोग लगाउनुको विकल्प नभएको जिकिर गरे ।

तल्लो सदनमा डेमोक्र्याट सांसदहरुको बहुमत भएकाले ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने संभावना छ । तर यसपछि माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ ।

तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बन्ने छन् । राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग गरेको कुराकानीबारे संसद्ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ ।

विगतमा दुईजना राष्ट्रपति बिल क्लीन्टन र एन्ड्रिउ जोन्सन विरुद्ध महाभियोग लगाइएको थियो । तर कोही पनि महाभियोगबाट हटाइएका भने छैनन् ।