औजार : आजको औजार दैनिकमा “खानानली र श्वासनली जोडिएको शिशुको सफल शल्यक्रिया” शीर्षकको समाचार छापिएको छ । खानानली र श्वासनली जोडिएको शिशुको सफल शल्यक्रिया गरी छुट्याइएको छ । पथरी शनिश्चरे नगरपालिका ३ की मनु मगरले जन्माएको शिशु जन्मदै खानानली र श्वासनली जोडिएर एउटै थियो । बिरलै हुने यस्तो समस्याले बेलैमा उपचार नपाए शिशुको ज्यान जाने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा. राजेशप्रसाद शाहले बताए । घरैमा छोरीलाई जन्म दिएकी मगरले समस्या भएपछि दमक अस्पताल पुर्याएकी थिइन् । विपी प्रतिष्ठानका डा. शाहसहितको टोलीले नवाजात शिशुको शल्यक्रिया गरेका थिए । ९ दिन अघि शल्यक्रिया गरेर एनआइसियुमा राखिएको शिशुलाई आज अस्पतालले डिस्चार्ज गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “झाडापखालाले गाउँ नै ग्रसित” शीर्षकको समाचार छापिएको छ । दुईदिनदेखि उदयपुरको शाही खोलाका बासिन्दाहरु झाडापखालाले विरामी परेका छन् । त्रियुगा नगरपालिका १६ को शाहीखोलाले सात परिवारका १४ जना झाडापखालाको बिरामी परेका हुन् । एकै गाउँका दुई बालबालिकासहित १४ जना झाडापखालाले विरामी परेपछि वडाको पहलमा बिहीबार जिल्ला अस्पताल उदयपुर लगिएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “संविधान संशोधन नभए सरकार छाड्छौः नेता राई” शीर्षकको समाचार छापिएको छ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्न आफुहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संशोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उनले चाडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गर्ने र संविधान संशोधन गर्न तयार नभए तत्काल सरकारबाट फिर्ता हुने बताए । समाजवादी पार्टी इलाम नगर समायोजन घोषणा सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता राईले समुन्नत संघीय समाजवादलाई मार्ग दर्शन मानेर पार्टी अगाडी बढेको बताउँदै पहिचान सहितको संघीयता, सुशासन र सदाचार सहितको शासन व्यवस्था गरिबी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको बताए ।