औजार : आजको औजार दैनिकमा “पानवारीमा डिप ट्युवेलबाट खानेपानी निकालिदै” शीर्षकको समाचार छापिएको छ । धरान ६ पानवारीमा खानेपानीको लागी डिप ट्युवेल जडान कार्य सुरु भएको छ । खानेपानी डिप ट्युबेल कार्यालय सुनसरीले पानवारीमा खानेपानीको लागी डिप ट्युवेल गाड्ने कामको ठेक्का लगाइसकेको छ । ठेकेदार कम्पनी हुकुम सेवा विराटनगरले पानवारी स्थित शितलचोक नजिकै गाडीसकेको छ । २९ लाख ११ हजार रुपैयाँको लागतमा कम्पनीले ५ दिन लगाएर ड्रिलिङ गरेको हो । १ सय २० मिटर मुनिसम्म ड्रिलिङ गर्ने भनिएता पनि ६० मिटरमा नै पानी निस्केपछि त्यहाभन्दा तलसम्म ड्रिलिङ गर्न नसकेको प्राविधिक जनक बस्नेतले बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “चिसोले पूर्वी तराईको जनजीवन कष्टकर” शीर्षकको समाचार छापिएको छ । पूर्वी तराईमा मौसममा परिवर्तन आएपछि जनजीवन प्रभावित बनेको छ । सिरहासहित पूर्वी तराईमा एक हप्तादेखि अचानक बढेको चिसोले जनजीवन प्रभावित भएको हो । एक्कासि बढेको चिसो हावा बहन थालेपछि जनजीवन प्रभावित बनेको हो । अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउन थालेपछि दैनिक ज्याला मजदुरी गरि जीविको पार्जन गर्ने सर्वसाधारण बढि प्रभावित भएका छन् । बढेको चिसोका कारण न्यानो कपडा पसलहरुमा भीड लाग्न थालेको देखिएको छ । सर्वसाधारण आगो तापेर बस्न थालेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “हेलिकप्टरको आकर्षण बढ्दै” शीर्षकको समाचार छापिएको छ । धरान रंगशालाबाट गत साताबाट पहिलो पटक धरान शहर वरिपरि हेलिकप्टर उडान भयो । धरान होलिडेज कम्पनीको व्यवस्थापन र माउन्टेन हेलिकप्टरको सहयोगमा पहिलोपटक धरानमा व्यावसायिक हेलि उडान गरेको हो । धरान हेलिडेजका सञ्चालन अमृत मानन्धरका अनुसार सुरुवातको दिन तीन उडान भएका थिए । धरान शहरको दृश्यावालोकन गर्न ५ हजार र पाथिभरा उडानका लागि भने प्रति व्यक्ति ३० हजार रुपैयाँ तोकिएको छ । पुष ५ गते पाँचथर सदरमुकाम फिदिममा पनि पहिलो पटक हेलिकप्टर उडान भयो । मनोरञ्जन र पर्यटकीय प्रयोजनका लागि माउन्टेन हेलिकप्टरसँगको सहकार्यमा तमोर भ्याली ट्राभल, टुर्स एन्ड ट्रेकिङ कम्पनीले यस्तो उडान सुरु गर्न लागेको हो ।