औजार : आजको औजार दैनिकमा “कृष्णदास बलात्कार प्रकरणः अदालतद्वारा फेरी ३ दिन म्याद थप” शीर्षकको समाचार छापिएको छ । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले अन्तिम ३ दिनको म्याद थप गरेको छ । थप अनुसन्धानको लागि भन्दै अदालतले पाँचौं तथा अन्तिम पटक ३ दिनको म्याद थप गरेको हो । अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ । प्रहरीले यसअघि थप गरिएको ७ दिन म्याद अगाडि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिए पनि पुनः म्याद थप गरिएको थिया े। गिरीलाई ३ नं इजलासका न्यायाधीश सिमानन्द भुसालले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् । गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत अदालत ल्याइएको थियो । म्याद थपसँगै उनलाई फेरि बिराटनगर फर्काइएको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिइएको थियो । पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सप्तकोशी उच्च बाँध अध्ययनमै सीमित” शीर्षकको समाचार छापिएको छ । कोशी नदीमा बाँध बाँधेर विद्युत उत्पादनसँगै सिंचाईलगायत बहुआयामिक रुपमा विकास गर्ने भनिएको सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना १५ वर्ष अध्ययनमै बितेको छ । अध्ययन पनि ३० प्रतिशत मात्र पूरा भएको आयोजनाले जनाएको छ । भारतले अध्ययनकै लागि भनेर विराटनगरमा कार्यालय खोलेर राखेको छ । तर उच्च बाँधबारे के हुदैछ भन्ने सूचना भने दिन चाहदैन । जलविद्युत्, सिंचाइ, जलपर्यटनलगायत पक्षलाई मध्यनजर गर्दै अध्ययन शुरु भएपनि अहिलेसम्म ३० प्रतिशत पनि काम नभएको कोशी उच्च बाँध तथा सुनकोशी डाईभर्सन बहुउद्देश्यीय परियोजनाका प्रोजेक्ट म्यानेजर प्रदिप शाह बताउँछन् । सन् २००४ अगष्ट (२०६१साउन) मा दुबै देशको सहमतिमा विराटनगरमा संयुक्त कार्यालय स्थापना गरेर अध्ययन सुरु भएको थियो ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “चिसो छल्न दाउरा सित्तैमा बाँडिदै” शीर्षकको समाचार छापिएको छ । केशी दिन यता लगातारको खराब मौसमले विशेष गरी तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । कठ्याङग्रीदो चिसोबाट बालाबालिका, वृद्धवृद्धा सिमान्तकृत समुदायका परिवार विकल्प विहिन अवस्थामा छन् । चिसोले बालबालिका महिला अझ प्रभावित भएका छन् । पराल, छेउछाउ पाईने दाउरा, सण्ठी बालेर उनीहरु चिसो बाट बच्ने प्रयासमा छन् । उनीहरुका जीवनमा चिसोले ल्याएको जोखिमबाट बचाउन अहिलेसम्म तिनै तहको सरकार विशेषतः तत्कालै राहत प्रदान गर्नुपर्ने स्थानीय सरकारहरुले प्रभावकारी कदम चालेको देखिन्न । यसबिच बराहक्षेत्र नगरपालिकाले सोमबारदेखि उहारणीय कदम चालेको छ । लगातार चिसो बढेकोले सिमान्तकृत गरिब समुदायलाई लक्षित गरी नगरपालिकाले निःशुल्क दाउरा वितरण गर्न सुरु गरेको छ ।