औजार : आजको औजार दैनिकमा “आगामी अधिवेशनमा प्रदेशको नाम टुंगो लाग्छ” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संसदको आगामी अधिवेशनबाट प्रदेशको नामको टुंगो लगाइने दाबी गरेका छन् । मन्त्री कार्कीले बहुमतका आधारका मात्र नभई सहमतिका आधारमा नाम राख्ने प्रयासका कारण केही ढिलाई भएकाले अब आगामी अधिवेशनबाटै यस विषयलाई टुंग्याईने बताए । झापाको दमकमा बुधबार पत्रकारसँगको भेटमा नेता कार्कीले प्रदेशको विविधता, सम्भाव्यता तथा जनचाहनालाई संबोधन हुने गरी नाम राख्ने तयारी भइरहेको बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “झुम्कामा लथालिङ्ग पशु बधशाला” शीर्षकको समाचार छापिएको छ । सुन्सरीको झुम्का क्षेत्रमा करोड लगानीमा निर्माण भएको पशु बधशाला लथालिङ्ग अवस्थामा छ । व्यवस्थित रुपमा मासु पसल सञ्चालनमा नआउँदा फोहोरको बीचमा बिक्री भइरहेको मासु खानुको विकल्प स्थानीयसँग छैन। मासुपसल व्यवस्थित गर्न पटकपटक अनुरोध गरेपनि सुनुवाई भएको छैन । मासु पसल व्यवस्थि तगर्न नगरपालिकाले पहल नगर्दा करोड रुपैयाँ लगानीमा बनेको भवन फोहोरले दुर्गन्धित हुन पुगेको छ । लामो समयदेखि झुम्का क्षेत्रका मासु व्यवसायिहरु अस्वस्थ मासु खान बाध्य छन् । तर मासु व्यवसायी व्यवस्थि तगर्ने भन्दै एकवर्षअगाडि सञ्चालनमा आएको पशु बधशाला अहिले बन्द हुने अवस्थामा पुगेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “हेलिकप्टर र ड्रोनबाट पुष्पवृष्टि गरिने” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ मा पर्यटन वर्ष २०२० को शुभारम्भलाई भव्य बनाउने भएको छ । प्रदेश १ स्तरिय पर्यटन प्रवद्र्धन समितिले यसबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । उद्घाटन भव्य बनाउन समिति तथा उपसमितिलाई सक्रिय बनाइएको बताइएको छ । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रशाद कुसियतले उदघाटनका लागि समिति र सरकारले सबै तयारी भरपुर रुपमा गरेको र उद्घाटनलाई विशेष बनाउने बताउँदै भने, ‘वर्षभरी हुने कार्याक्रम र अभियानलाई पनि विशेष ध्यान दिएका छौं ।’ उनले पर्यटकको मनमा बस्ने कार्यक्रम र योजना बनाइएको दाबी गरे ।