औजार : आजको औजार दैनिकमा “अस्पतालबाटै सक्रिय कृष्णदास” शीर्षकको समाचार छापिएको छ । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचारका लागि भन्दै विराट नर्सिङहोममा छन् । एक महिना अघि अस्पताल भर्ना भएका गिरीले प्रहरी हिरासतमा बस्नुपर्ने समय अवधी अस्पतालको सैयाबाटै कटाए । गिरी विरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयले अभियोग पेस गरेपछि जिल्ला अदालतले शुक्रबार बयान लिएको थियो । अदालतमा इन्कारी बयान दिएका गिरीको थुनछेक बहस आजबाट सुरु हुनेछ । १६ मंसिरमा पक्राउ परेक ागिरीको कल डिटेल अध्ययन गर्दा प्रहरीले बारम्बार महिला अनुयायीलाई फोन र म्यासेज गरी भेटन बोलाउने गरेको तथ्य फेला पारेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सरकारबाट बाहिरिने काम देश र विदेशीको षड्यन्त्रमा” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो –मौसमले संविधानको मुद्दा उठाएर सरकारबाट बाहिरिने काम देशी र विदेशीको षड्यन्त्रमा भएको बताएका छन् । समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने खेल संविधान संशोधनको एउटा बहाना मात्र भएको धारणा राखे । शनिबार झापाको कचनकवल ७ स्थित बालुवाढीमा शहीद स्मृति प्रतिष्ठानको भवन शिल्यानास गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “प्रदेश प्रहरी गठन र मुख्य न्यायाधिवक्ताको भूमिका विस्तारमा जोड” शीर्षकको समाचार छापिएको छ । प्रदेश प्रहरी गठन र प्रदेशका मुख्य न्यायधिवक्ताको भूमिका विस्तार गर्नुपर्ने विषयलाई सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र मुख्य न्यायाधिवक्ताहरुले गम्भीर रुपमा उठाएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार सम्पन्न भएको कानुन र सुरक्षा सम्बन्धी अन्तर प्रदेश अनुभव आदानप्रदान भेलामा प्रदेशका अधिकारलाई खुम्चाउने भन्दा पनि यसलाई प्रभावकारी बनाउनुपर्ने निश्कर्ष निकालिएको हो ।