ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भेट्न बोलाएर प्रेमिकाको हत्या” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका रमेश अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अधिकारीलाई सार्वजनिक गरेको हो । गत मङ्सिर १७ गतेदेखि बेपत्ता भएकी १९ वर्षीया अधिकारीलाई खोजि गरिदिन भन्दै उनको अभिभावकले मङ्सिर २३ गते फोटोसहित प्रहरीलाई निवेदन दिएको आधारमा खोजतलास गर्ने सोही गाउँपालिका ३ हाङ्पाङका रमेश अधिकारीलाई प्रहरीले गत पौष ९ गते पक्राउ गरेको थियो । २७ वर्षीय अधिकारीलाई व्यक्ति वेपत्ता पारेको कसुरमा जिल्ला अदालत ताप्लेजुङबाट हिरासतमा राख्न म्याद थप गरी अनुसन्धान जारी रहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । फुयालका अनुसार अभियुक्तले मन्दिरा अधिकारीको हत्या गरी तमोर नदीको पुलबाट नदीमा फालिएको स्वीकारेका छन् । कसरी भएको थियो घटना ? प्रहरीका अनुसार रमेश र बेपत्ता मन्दिराबीच गहिरो प्रेमसम्बन्ध रहेको खुलेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “चिसोले विरामीको चाप बढ्यो” शीर्षकको समाचार छापिएको छ । बाक्लो हुस्सुसँगै केहीदिन यता सुरु भएको शीतलहरले विराटनगरका अस्पतालमा बिरामीको चाप दिनदिनै बढदै गएको पाइएको छ । शीतलहरले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा विरामी हुने गरेको हो । तराई मधेशको आर्थिक रुपले विपन्न परिवार बढी चिसोले प्रभावित भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा दैनिक रुपमा विरामीको चाप बढ्दै गएको बताइएको छ । दैनिक रुपमा विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा ८५ को हाराहारीमा वृद्धवृद्धा र बालबालिका आउने गरेका छन् ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “पाथीभरा मन्दिर भेडेटारको धार्मिक आकर्षण” शीर्षकको समाचार छापिएको छ । अंग्रेजी नयाँ वर्ष २०२० जनवरी १ को अबसरमा आउने पर्यटहरुलाई लक्षित गरी भेडेटारमा आयोजना हुदै आएको फुड फेस्टिभलको यसपालीको तयारी प्रायः पुरा भएको होटल एशोसिएसन भेडेटारका कोषाध्यक्ष रमेश श्रेष्ठले बताएका छन् । जनवरी १ तारिक आउन ३ दिन मात्र बाँकि छ । सोही दिन देखि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० पनि प्रारम्भ हुँदै छ । पर्यटन वर्षको अघिल्लो दिनदेखि सुरु हुने आठौ भेडेटार फुड फेस्टिभलमा अघिल्ला वर्षका भन्दा धेरै संख्यामा पर्यटहरु आउन सक्नेछन् ।