औजार : आजको औजार दैनिकमा “मदन भण्डारी राजमार्ग निर्माणमा विवाद” शीर्षकको समाचार छापिएको छ । सरकारले दुई वर्षअघि घोषणा गरेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग)को पूर्वी रुटका विषयमा विवाद उब्जेको छ । मोरङ, इलाम र झापा जिल्लामा कहाँबाट राजमार्ग लैजाने भन्नेमा विवाद भएको हो । सबैभन्दा बढी विवाद भएको क्षेत्र हो, झापाको दमक । प्रद्यानमन्त्रीको गृहनगर दमकलाई पूर्वपश्चिम राजमार्गले छुन्छ । यही राजमार्गभन्दा माथि उत्तरतर्फ प्रद्यानमन्त्रीकै अग्रसरतामा भ्यू टावर पनि बन्दैछ । अब यही भ्युटावर आसपास पर्नेगरी मदन भण्डारी राजमार्ग पनि बनाउन तयारी भएको भन्दै माथिल्लो भेगमा स्थानीयले विरोध सुरु गरेका छन् । स्थानीय मात्र हैन, संघीय तथा प्रदेश सांसदहरु प्नि यसको विरोधमा छन् । मोरङको लेटाङबाटै दमकतिर सहज हुने गरी राजमार्गको रेखांकन हुन लागेको आरोप उनीहरुको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मोरङमा हत्याका घटना बढ्दो” शीर्षकको समाचार छापिएको छ । मोरङमा हत्याको घटनामा वृद्धि भएको पाइएको छ । एक वर्षको अवधिमा मोरङमा १२ जनाको हत्या भएको छ । गत जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा गैह्रराज्य पक्षबाट ७ महिला, २ पुरुष, १ बालिका र २ जना शिशुको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक विराटनगरले जनाएको छ । गत वर्षको यही अवधिमा ११ जनाको हत्या भएको थियो । इन्सेक विराटनगरले सोमबार आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक पूर्वसमीक्षा गोष्ठी तथा मिडिया साझेदारी बैठकमा सो जानकारी दिइएको हो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका प्रलेख अधिकृत पुण्य अधिकारीले एक वर्षको अवधिमा मोरङमा १ सय ५६ जना पीडित भएको जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “भ्रमण वर्षमा तगारै तगारो” शीर्षकको समाचार छापिएको छ । १ नम्बर प्रदेश सरकारले बुधबार (१ ज्नवरी) का दिन विराटनगरस्थित शहिद रंगशालाबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दैछ । दशौं हजार मानिसलाई सहभागी गराई भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको हो । तर भ्रमण वर्षमा आउने पर्यटकहरुले भोग्नेपर्ने समस्याका विषयमा भने सरकारले ध्यान नदिएको हुँदा होटल एवं पर्यटन व्यवसायीहरुले भने भ्रमण वर्ष सफल हुने कुरामा सुरुमै शंकगर्न थालेका छन् । प्रदेश १ मा आउने पर्यटक भनेका आन्तरिक पर्यटकबाहेक भारतीय पर्यटहरु हुन् । तर उनीहरुलाई नेपाल आउन अनेकौं समस्या झेल्नुपर्ने हुँदा भारतीय पर्यटक आउने कुरामा व्यवसायीहरुले शंका व्यक्त गरेका हुन् । भन्सारदेखि गन्तव्यस्थलसम्म पुग्दा उनीहरुले अनेकौं झन्झट व्यहोर्नु पर्ने हुँदा भ्रमण वर्षमा भारतीय पर्यटकहरुको संख्या बढ्छ भन्ने सम्बन्धमा व्यवसायीहरु विश्वस्त छैनन् ।