ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रहरीकै मिलेमतोमा दैनिक लाखौंको तस्करी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको दक्षिणवर्ती क्षेत्र घुस्की नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा दैनिक लाखौंको तस्करी हुने गरेको पाइएको छ । चोरी पैठारी नियन्त्रण गरी राजश्व वृद्धि तथा शान्तिसुरक्षा मजबुत बनाउन घुस्की नाकामा परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा घुमुवा प्रहरी सीमामा तैनथ गरिए पनि तस्करी नियन्त्रणमा आएको छैन । नेपाल भारतबीचको खुला नाकाका कारण घुस्की, साहेवगञ्ज, बसन्तपुर, कप्तानगञ्जसहितका नाका हुँदै दिनहुँ तस्करी गर्ने गिरोह सक्रिय रहेको छ । अवैधानिक रुपमा दैनिक लाखौंको भन्सार छल्ने तस्करहरुसँग असुली गर्न सीमावर्ती क्षेत्रहरुमा सादा पोसाकमा प्रहरी भेटिने गरेको स्थानीय बताउँछन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “राष्ट्रिय सभा चुनावको तयारी” शीर्षकको समाचार छापिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि १ नम्बर प्रदेशस्तरिय निर्वाचन अधिकृतको कार्यालय मंगलबार विराटनगरमा स्थापना गरिएको छ । तीनटोलिया सोमबारेस्थित जिल्ला निर्वाचन कार्यालय हाताभित्रै राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृत कार्यालयको स्थापना गरिएकोहो । राष्ट्रिय सभा सदस्य निर्वाचन निर्वाचन सम्पन्न गर्न जिल्ला अदालत मोरङका न्यायधिश मेदनीप्रसाद पौडेल मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “खानेपानी परियोजना अझै अन्यौलमा” शीर्षकको समाचार छापिएको छ । निर्माण शुरु भए सँगै विवादित बनेको धरानको एकिकृत शहरी विकास आयोजना अन्तर्गतको खानेपानी परियोजना अझै पनि टुङ्गो लाग्न सकेको छैन । एशियाली विकास बैंकको ५० प्रतिशत अनुदान, ३५ प्रतिशत ऋण र धरान उपमहानगरपालिकाको १५ प्रतिशत लगानीमा सञ्चालन भएको परियोजनाको म्याद सकिएको दुई वर्ष बितिसकेको छ । तर पनि आन्तरिक विवादहरु मिलाउन नसक्दा अझै पनि अन्यौलमै रहेको छ । निर्माण सम्पन्न गर्नको लागि एशियाली बिकास बैंकले दोश्रो पटक थप गरिएको समय अवधिमा पनि मंगलबार सकिएको छ ।