औजार : आजको औजार दैनिकमा “अपहरित युवती धरानमा भागेर जोगाईन्” शीर्षकको समाचार छापिएको छ । बुधबार राती इटहरीबाट अपहरणमा परेकी एक युवती धरानमा भागेर ज्यान जोगाएकी छन् । मंगलबार विराटनगरबाट घर फर्किदै गरेकी १७ वर्षीया युवती इटहरी बजारबाट अपहरणमा परेकी हुन् । बुधबार राति ११ः३० बजेतिर अपहरणकारीको कब्जाबाट भागेर बाच्न सफल भएकी उनको शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै लगाएका कपडा समेत च्यातिएको छ । घाइते अवस्थामा रहेकी युवतीलाई प्रहरीले तत्काल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी डिस्चार्ज भएको छ ।

यसैगरी आजकै औजार दैनिकमा ‘सिद्धबाबा विरुद्ध चतरामा प्रदर्शन’ शिर्षकको समाचार छापिएको छ । बराहक्षेत्र स्थित चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले कारबाही नै नगरि धरौटीमा छोडेको विरोधमा स्थानीय विभिन्न संघ संस्था सम्बन्ध महिला समूहले र्याली निकालेर विरोध जनाएका छन् । र्यालीमा महिला सञ्जाल, युरेक नेपाल, पारालिगल लगायतका संघसंस्था तथा स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । सहभागिले महिला हिंसा बन्द गर, बलात्कारीलाई कारबाही गर, सम्पूर्ण महिला अधिकारकर्मीहरु एक हौ, शान्ति सुरक्षा कायम गर, पीडितलाई न्याय दे, धर्मको आडमा अपराध गर्न पाइदैन, कृष्णदास चतरा छोड जस्ता माग सहितको प्लेकार्ड र ब्यानर बोक्दै नाराबाजी गरेका थिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वीपीमा पेइङको धन्दाले गरिबलाई पीडा” शीर्षकको समाचार छापिएको छ । पित्तथैलीमा पथरिया भएपछि सहन नसकेर मोरङको उर्लाबारीबाट शल्यक्रियाका लागि शुक्रकुमार लिम्बु धरानस्थित विपि काइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जिकल ओपिडीमा पुगे । प्रारम्भिक परिक्षणपछि चिकित्सकले सोधे, ‘पेइङबाट उपचार गर्ने कि जनरलबाट ?’ गाउँघरमा हुर्केका लिम्बुले नबुझेर लिम्बुले सोधे, ‘डाक्टरसाब पेइङबाट गर्दा के हुने र जनरलबाट गर्दा के हुने ?’ जवाफमा डाक्टरले भने, ‘पेइङबाट गर्ने हो भने आजको भोलि उपचार हुन्छ । जनरलबाट गर्ने हो भने तीन महिनापछि मात्र उपचार हुन्छ ।’ पित्तथैलीमा रहेको २८ एमएमको ढुंगाको कारण सहन नसकेर पटक पटक बेहोस हुँदै आएका ३६ वर्षीय लिम्बुले चिकित्सकलाई भनिहाले ‘किन पर्खिनु तीन महिना ? आजको भोलि उपचार हुने पेइङबाट गरिदिनुस डाक्टरसाब ।’ सर्जिकल ओपिडीमा लिम्बुको स्वास्थ्य जाँच गरेका चिकित्सले शल्यक्रियाको तत्काल प्रक्रिया शुरु गरे । बेडभर्ना पनि गरिहाले । लिम्बुका कुरुवालाई चिकित्सकले बिल तिर्नका लागि काउण्टरमा पठाए । जब शान्ति लिम्बु काउण्टरमा पुगेर पेइङबाट पित्तथैलीको शल्यक्रियाको शुल्क सुनिन् तब छांगाबाट खसिन् । शल्यक्रियाको शल्कमात्र उनले तिर्नुपर्ने बिल थियो नगद ३१ हजार रुपैयाँको । त्यसबाहेक अरु पनि ल्याबटेष्टको शुल्क तिर्दै ७ हजार सकिसकेको थियो । यो साताको घटना हो ।