औजार : आजको औजार दैनिकमा “पर्यटन तथा भ्रमण वर्षमा नदी सरसफाई” शीर्षकको समाचार छापिएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अबसरमा सुनसरी नदी सरसफाई गरेको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवा खण्डमा सरोकारवालाहरुले सुनसरी नदी सरसफाई गर्दै भ्रमण वर्षको शुभारम्भ गरेका छन् । अनुपम प्राकृतिक सम्पदा सुनसरी नदीको स्वच्छता नाराका साथ सुनसरी नदी सरसफाई कार्यक्रम सम्पन्न गरेको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र शाहले जानकारी दिएका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश १ बाट विप्लवका ८६ कार्यकर्ता पक्राउ” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ बाट चालू आर्थिक वर्षको पुस १३ गतेसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी कारबाहीको लायरामा ल्याएको छ । पक्राउ पर्नेमा विप्लव समूहका पोलिटब्युरो सदस्यदेखि जिल्ला इञ्चार्ज, सचिव र सदस्यसम्म रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रशरीले पक्राउ गरेको विप्लव समूहका कार्यकर्तालाई चन्दा ऐन, राज्यविरुद्ध कसूर, बम विष्फोटक पदार्थ, साङ्गठनिक अपराध, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी कसूर, हातहतियार तथा खरखजना लगायतका विभिन्न मुद्दा चलाउने गरेको छ । प्रहरीले पक्राउ गरेकामध्ये २१ जना हिरासतमा छन् । १४ जना धरौटी बुझाउन नसकेर र १४ जना पुर्पक्षका लागि गरेर २८ जना कारागार चलान भएका छन् । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गर्न सर्च अभियान सुरु गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ठाकुर प्रसाद ज्ञवालीले प्रहरीको सक्रियता बढी भएकाले विप्लव समूहका नेता कार्यकर्तालाई पक्राउ गर्न सफल भएको बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “कोशी अस्पतालको सेवा कमजोर” शीर्षकको समाचार छापिएको छ । न्यूनतम मापदण्ड सेवा प्रवाहमा विराटनगरस्थित कोशी अस्पतालले ४७ प्रतिशत अंक प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन टोलीले गरेको अनुगमनपछि सो प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनले अस्पतालको सेवा सुविधामा अझै धेरै सुधार गर्नुपर्ने अवस्था रहेको औल्याएको छ । मन्त्रालयले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अस्पतालले व्यवस्थापनतर्फ ४९ दशमलव ११ प्रतिशत, चिकित्सक सेवामा ४५ दशमलव ७७ प्रतिशत तथा अस्पताल सहयोगी कार्यमा ४९ दशमलव ६८ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिए । मन्त्रालयको अध्ययन टोली र सो अस्पतालको टोलीले संयुक्त रुपमा तीन दिन लगाएर अस्पतालले प्रदान गर्ने सेवा र अस्पतालको अवस्थाबारे अनुगमन र मापन गरेपछि अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरेको मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख एवं अध्ययन टोलीको संयोजक डा. दिपेन्द्ररमण सिंहले बताए ।