औजार : आजको औजार दैनिकमा “पूर्वराजा ज्ञानेन्द्र सुटुक्क झापाको दमकमा” शीर्षकको समाचार छापिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्कै झापाको दमकमा पुगेका छन् । गत पुस २ गते भद्रपुर विमानस्थल हुँदै दमक पुगेका शाहको यसपटकको भ्रमण विगतका तुलनामा शालीन र शान्त देखिएको छ । शाहका यसअघि हुने जिल्ला भ्रमणमा लगाइदै आएको राजा आउ देश बचाउ जस्ता राजनीतिक दललक्षित नारा यसपटक घन्किएनन् । दरबारलाई नजिकबाट जान्नेहरु बताउन थालेका छन् । । शाहले यतिबेला आफ्ना गतिविधिमा पत्यारै नलाग्ने किसिमले परिवर्तन गरेका छन् । उनको आग्रह अनुसार समर्थकले राजा आउ देश बचाउ जस्ता दलका गतिविधिलाई लक्षित गर्ने शैलीका नारा लगाएनन् । शाहनिकट एक श्रोतले बतायो, ‘यस्ता नाराले आफू र दलबीचको दुरी बढाउन मात्र बल दिने र आफ्ना योजना असफल हुने हुनाले यस्ता नारा नलगाउन स्वयं शाहले नै आफ्ना समर्थकलाई आग्रह गरेको कारण यसपटक झापामा त्यो नारा नगुन्जिएको हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “३१ दिनपछि भेटियो शवः हाडनाताले निम्त्याएको दुर्दशा” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २, की १९ वर्षीया मन्दिरा अधिकारीको शव फेला परेको छ ।
बेपत्ता भएको ३१ औँ दिन ताप्लेजुङ जिल्लाको आठराई गाउँपालिका वडा नम्बर ७ मा तमोर नदीको किनारमा अधिकारीको शव फेला परेको हो । स्थानीय मछुवाले नदी किनारका शव देखेपछि प्रहरीलाई खबर गरेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । गएको मंसिर १७ गते आठराई त्रिवेणी गाउँपालिका(३, हाङपाङका रमेश अधिकारीले मृतक मन्दिराको हत्या गरेर तमोर नदीमा फालेको प्रहरीसमक्ष बयान दिएका थिए । त्यसै बयानका आधारमा शवको खोजी भइरहेको थियो । शव फेला परेपछि मन्दिराका आफन्तलाई प्रहरीेले खबर गरेको र आफन्तहरु हातका बाला, लुगा, कानका टपको आधारमा शव मन्दिराकै भएको सनाखत गरेको डीएसपी फुयाँलले बताए । अनुहार भने चिन्न नसक्ने अवस्थामा रहेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर लगिँएको गरेको पनि डीएसपी फुयालले जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “ठूलो परिमाणमा छोकडा बरामद” शीर्षकको समाचार छापिएको छ । विभिन्न खाद्यान्न सामग्री तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जानेक्रम चलिरहेकै बेला पछिल्लो समय छोकडासमेत तस्करी हुन थालेको छ । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्न लगिरहेको ठूलो परिमाणको छोकडा प्रहरीले बरामद गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । नेपाल–भारत सीमामा रहेको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीबाट प्रहरीले बेवारिसे अवस्थामा छोगडा बरामद गरेको जनाएको छ । सरुवा भइ पाँच दिनअघिमात्र जिल्ला प्रहरी कार्यालय आएका प्रहरी निरीक्षक बाबुराम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको छोकडा बरामद गरेको हो । इन्जिन नभएको स१त ८७४४ नम्बरको ट्याक्टरको ट्रलीबाट तीन हजार ५०० किलो छोकडा बरामद गरेको प्रहरी निरीक्षक कार्कीले बताए । उक्त ट्याक्टरको ट्रलीसहितको ३५ क्विन्टल छोकडा तिलाठी कोइलाडी–१, बेल्हीस्थित भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समय पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुनेक्रम बढेको व्यापारीले बताएका छन् । पछिल्ला केही महिनादेखि व्यवसायी छोकडा कारोबारमा आकर्षित छन् र सीमा क्षेत्रमा भन्डारण गरेर राख्ने गरेका छन् । स्याउ, मरिच, केराउ, सुपारी आदि खाद्यान्न नेपाल हुँदै भारत तस्करी हुने सूचीमा रहेको छ । नेपालबाट अनौपचारिक कारोबार हुँदै भारत निर्यात गर्न पछिल्लो समय नेपालमा छोकडाको माग बढेको बताइन्छ ।