औजार : आजको औजार दैनिकमा “छोरीको हत्या भएको माइतीको आरोप” शीर्षकको समाचार छापिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा मंसिर ३० गते एक महिलाको हत्या भएको दावी गरिएको छ । दुई छोराछारीकी आमा रहेकी मुनिया देवी मण्डलको हत्या भएको माइती पक्षले दावी गरेको छ । वैदेशीक रोजगारमा रहेका ज्वाई २८ वर्षिय पन्नुलाल मण्डल स्वदेश फर्केको डेढ महिनापछि छोरीको हत्या गरेको पीडितकी बुबा कुमोद मण्डलले दाबी गरेका छन् । आफूहरुलाई कुनै जानकारी नदिई छोरीको घाँटी थिचेर हत्या गरेको मण्डलको आरोप रहेको छ । छोरी मुनियाँको जातीय परम्पर अनुसार विवाह गरेको आठ वर्षपछि दहेज र अन्य आरोप लगाउँदै हत्या गरेको भन्दै दोषीलाई कार्बाही गनुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दोहोरो नागरिकता लिने पक्राउ” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङ प्रहरीले झुटा विवरण दिई दोहोरो नागरिकता लिने एक महिलाई पक्राउ गरेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनकी अनिता तामाङले झुटा विवरण दिई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट दोहोरो नागरिकता लिएको भन्दै गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दर्ता भएको थियो । झुटा विवरण दिई दोहोरो नागरिकता लिएको सम्बन्धी कसूरमा मुद्दा दर्ता भई खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका ५ महानन्द चौकमा लुकीछिपी बसिरहेको अवस्थामा ताप्लेजुङ र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले गत शुक्रबार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मनपरी चेकजाँचले पर्यटकलाई सास्ती” शीर्षकको समाचार छापिएको छ । भ्रमणका लागि भारतीय सवारी साधन सहित आउने पर्यटकलाई स्थानीय सरकार र प्रहरीले अनावश्यक दुःख दिने गरेको होटल व्यवसायीहरुले गुनासो गरेका छन् । भन्सार पास लिएर आउँदा पनि बाटोमा स्थानीय सरकार र ट्राफिक प्रहरीले जाँचको नाममा दुःख दिने गरेको र विभिन्न बहानामा प्रवेश शुल्क लिने गरेको उनीहरुको गुनासो छ । भर्खरै सम्पन्न आठौं भेडेटार फुड फेस्टिभलमा भारतबाट आएका पर्यटकलाई अनावश्यक दुःख दिएको भेडेटार होटल एशोसिसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।