औजार : आजको औजार दैनिकमा “शैक्षिक गुणस्तरका लागि अभिभावक चनाखो हुनुपर्छ” शीर्षकको समाचार छापिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गाउँपालिका स्तरिय शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिकाका ९० जना बढीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुले विद्यालयमा विद्यार्थी र अभिभावकको समस्याबारे बोलेका छन् । कार्यक्रममा बोल्दै विद्यार्थीहरुले गुणस्तरिय शिक्षाका लागि आएपनि विद्यालयको वातावरणका कारणले नपाएको गुनासो विद्यार्थी रुपेश यादवले गरे । यादवले विद्यालय क्षेत्रमा खाजा खाने गुणस्तरिय क्यान्टिनको व्यवस्था नभएको, विद्यालयमा शिक्षकहरु पाठनोट अनुसार नपढाएको, गृहकार्य नदिएको र कहिलेकाही दिएपनि परिक्षण नगरेको गुनासो गरे ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मङ्गलबारे अस्पताललाई ५० शैयाको बनाउने निर्णय” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पताललाई ५० शैयाको बनाउने प्रदेश १ को मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । जिल्लास्तरिय अस्पताललाई प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्दै ५० शैयाको बनाएर प्रदेश मातहत ल्याउने निर्णय गरेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए ।

यसैगरी आजकै ब्लाष्टमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले ५३ वर्षीय नारायणकुमार अग्रवालसहित ४ जनालाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको समाचार छ । काठमाडौं उपत्यकाभित्र हुण्डी कारोबार गर्ने गिरोह नै सक्रिय रहेको सुचनाका आधारमा महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार न्यूरोडबाट नारायणकुमार सहित काठमाडौं महानगरपालिका २४ इन्द्रचोक बस्ने ४० वर्षीय गोपाल अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३१ वर्षीय भोला नेपाल र काठमाडौं ताहाचालका ३९ वर्षीय कमल अग्रवाललाई पक्राउ गरेको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “चोरीका बाइकको पार्ट्स बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा” शीर्षकको समाचार छापिएको छ । चोरीका बाइकका पार्ट्स निकालेर बेच्ने गिरोहले सञ्चालन गरेको मिनि वर्कसप सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । लामो समय देखि चोरीका बाईकको पार्ट्स निकालेर बेच्ने धन्दा गर्दै आएका सुन्दर हरैचा १ गोठगाउँका सन्तोष खत्रीले संचालन गरेको मिनि वर्कसप संगै मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सुन्दरहरैचा ७ का निश्चल श्रेष्ठ र रोजिश राईलाई समेत पक्राउ गरेको छ । उनीहरुले सुन्दरहरैचा ५ बाँसबारीस्थित संगम गुरुङको घरबाट मंसिर २१ ग्ते राति चोरी भएको को ३५ प २२७३ नम्बरको २ सय सिसिको पल्सर मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीको भनाई छ ।