ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश १ बाट घूससहित ५७ रङ्गेहात पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोरङको बेलबारी नापी कार्यालयमा कार्यरत सर्वेक्षक दिनेशकुमार शाह ७ हजार घुस रकमसहित सोमबार दिउँसो रङ्गेहात पक्राउ परे । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा गएको टोलीले सेवाग्राहीसँग घूस लिएको अवस्थामा शाहलाई पक्राउ गरेको हो । बेलबारी नगरपालिका १० का एकजना सेवाग्राहीसँग नापीका सर्वेक्षक शाहले जग्गा नापेर सीमाङ्कन गरिदिने भन्दै घूस रकम लिने क्रममा अख्तियारबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए । यसअघि गत मंसिर १४ गते सशस्त्र प्रहरीका जवान सचितनारायण विश्वास ५ हजार ५ सय रुपैयाँ घूससहित विराटनगरस्थित बसपार्कबाट पक्राउ परे । उल्लेखनिय घटना प्रतिनिधिमूलक मात्र हुन् । इटहरीस्थित अख्तियारले साढे २ वर्षमा प्रदेश १ का १४ जिल्लामा ४५ वटा स्ट्रिङ अप्रेसन गरेर ५७ जनालाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आजकै ब्लाष्टमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लाण्ट आइतबार राति ११ बजेदेखि तेस्रोपटक फेरि बिग्रिएको समाचार छ । प्लाण्ट बिग्रिएपछि प्रतिष्ठानमा विरामी उपचार सेवासहित शल्यक्रिया प्रभावित भएको छ । अक्सिजन आपूर्ति नै रोकिएपछि पूरै बेहोस् बनाएर गनुपर्ने शल्यक्रिया सबै अर्को समयका लागि सारिएको सर्जिकल विभागका प्रमुख डा. रिकेश गुप्ताले बताए । उनले भने ‘जनरल शल्यक्रिया भने रोकिएका छैनन् ।’ प्रतिष्ठानमा दैनिक ६० देखि ७० वटा अप्रेशन हुने गरेको छ । अप्रेशन रोकिँदा पेइङका विरामी र चिकित्सकलाई भने बढी मार परेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “श्रीमान खोज्न आएकी महिला बलात्कृत” शीर्षकको समाचार छापिएको छ । काठमाडौबाट श्रीमान खोज्दै इटहरी आएकी एक महिला जबरजस्ती करणीको शिकार भएकी छिन् । एक सातादेखि पूर्वका विभिन्न स्थानमा श्रीमान खोजीमा भौतारिएकी ३२ वर्षीया महिलालाई आइतबार दिउँसो सुनसरी मोरङको सीमामा पर्ने बुढी खोलामा जबरजस्ती दुईजनाले बलात्कार गरेका थिए । उनलाई इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले जबरजस्ती सिटिमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा जवरजस्ती करणी गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयको सहयोगमा घटनास्थलबाटै दुबैजना पक्राउ परेका थिए ।