ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा ‘सीमाक्षेत्रमा चौपाया चोरको बिगबिगी’ शीर्षकको समाचार छापिएको छ । सुनसरीको सीमावर्ती क्षेत्रमा चौपाया चोरको बिगबिगी छ । जिल्लाको सिमाना भारतसँग जोडिएको हुनाले सीमावर्ती क्षेत्रमा भारतीय चोरको बिगबिगी बढेको छ । जाडोको समयमा प्रहरीले गस्त ीगर्न छाडेपछि भारतका विभिन्न स्थानबाट आउने चोरहरुको समूहले रातिको समयमा गाई, गोरु र भैसी चोरेर लाने गरेको स्थानीयले गुनासो गरेका छन् । भारतबाट शुक्रबार राति आएको चोरहरुको समूहले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बाट तीन परिवारको चौपाया चोरेर लाने क्रममा चोर पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका १ बाट स्थानीय मुस्लिम अन्सारीको दुईवटा गोरु, शिवनारायण मेहताको एउटा भैंसी र पाडी तथा भजनलाल मेहताको एउटा भैंसी चोरेर भारततर्फ लाने क्रममा शनिबार चौपाया चोर सजना पाठक पक्राउ परेका हुन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा वीपी प्रतिष्ठानमा इआरसिपी प्रविधिबाट उपचार शुरु शीर्षकको समाचार छापिएको छ । बिना अप्रेसन पित्तनलीको उपचार गर्ने पद्धति धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ । इआरसिपी प्रविधबाट पित्तनलीमा रहेको ढुंगा निकाल्ने, पित्त नलीको जाँच गर्ने, पत्थरीको ट्युमर परजीवी हेर्ने, नली साँघुरो भएको भए जाँच गरी स्टयाण्ड राख्ने काम गरिने अस्पतालका ग्याष्ट्रोलोजि एण्ड हेपाटोलोजी विभाग प्रमुख डा. विक्रम प्रधानले जानकारी दिए । डा. प्रधानका अनुसार अस्पतालमा ६ महिना अघिदेखि सुरु भएको इआरसिपी प्रविधिबाट ७० जना भन्दा बढीले सेवा लिइसकेका छन् । उनले भने, ‘यो प्रविधिबाट विरामीको उपचार गर्दा विरामीलाई सजिलो हुने, जोखिम कम हुने हुन्छ ।’

आजको कोशीपत्र दैनिकमा जनप्रतिनिधि भन्छन्ः ‘विप्लवको चन्दा आतंकले कार्यालय जान डर भयो’ शीर्षकको समाचार छापिएको छ । सुनसरीको रामधुनी नगरपालिकाका एक वडाध्यक्षलाई विप्लव समूहको मेची कोशी ब्यूरो सदस्य बताउने दुईजना नेताले गत ८ माघमा वडा कार्यालयमै आएर तिन लाख चन्दा माग गरे । ‘पार्टीलाई सहयोग’ भन्दै उनिहरुले ३ दिन भित्र चन्दा बुझाउन उर्दी दिए । वडाध्यक्ष तिनदिन सम्म कार्यालय गएनन् । पछि फोन मार्फत धम्की आयो परिणाम राम्रो हुन्न । धम्की आएको दिनदेखि ति वडाध्यक्ष कार्यालय जान डराउँछन् । नगरपालिकाले दिएको सरकारी बाईक समेत उनले कुदाउन छाडेका छन् । धम्की र चन्दा मागेको विषय उनले स्थानीय प्रहरी चौकीलाई खबर गराएका छन् । प्रहरीले पनि सो वडा कार्यालयमा एकजनाको डिउटी खटाएको छ । मोरङ सुन्रहरैचा नगरपालिकाका अर्को एक वडाध्यक्षको व्यथा पनि उस्तै छ। दुई लाखको चन्दा मागसहितको पत्र उनलाई विप्लव समूहले पठाएका छन् ।