ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा ‘कसूर ठहरिएपछि प्रदेश सांसद् खातुन फरार’ शीर्षकको समाचार छापिएको छ । सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा प्रदेश १ प्रदेशसभा सदस्य मोरङ धनपालथान गाउँपालिका ६ की गुलेफुन खातुनसहित तीन जनालाई अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएपछि फरार भएकी छन् । सांसद् खातुनलाई सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा उच्चअदालत विराटनगरले १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला गरेपछि फरार भएकी हुन् । खातुनलाई प्रहरीले मुद्दा चलाउँदा २४ वर्षकी थिइन् । खातुनलाई तत्कालीन एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बनाएको थियो । प्रहरीले पक्राउ गर्ने भयले गत बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा खातुन मतदान गर्नसमेत आएकी थिइनन् । नेकपा प्रदेश १ समितिले सबै मतदाता प्रतिनिधिलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरे पनि प्रहरीले पक्राउ गर्ने भयका कारण खातुन मतदानस्थलमा आउन नसकेकी हुन् । उच्चअदालत विराटनगरले खातुनविरुद्ध कसूर ठकर गरेपछि फरार सूचीमा राखेको छ । अदालतले दोषी ठहर गरेको प्रतिवादी खोज्न प्रहरी लागि परेको मोरङ प्रहरीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा अरुण तेस्रो परियोजनामा बम विष्फोट शीर्षकको समाचार छापिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ । चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा आइतबार विहान कुकर बम विस्फोट भएको हो । बम बिस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । यद्यपी विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्नता रहेको प्रहरीको आशंका गरिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा नेपाली कांग्रेसमा ‘फ्लोर क्रस’को चिन्ता शीर्षकको समाचार छापिएको छ । माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा महिला उम्मेद्वारलाई खसेको मतका कारण नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलमा किचलो उत्पन्न भएको छ । कांग्रेसका दुई जना सांसदको मत नेकपाकी उम्मेद्वारलाई खसेपछि तिनको खोजी कांग्रेस संसदीय दलमा भएको छ । मत परिणाम सार्वजनिक भएपछि कांग्रेसका सांसदले गरेको फ्लोर क्रस बारे पार्टीभित्रै चासो सुरु भएको थियो । सोही विषयमा समीक्षा गर्न भन्दै आइतबार बसेको प्रदेश १ को कांग्रेस संसदीय दलको बैठकले पार्टी नीतिविपरित नेकपाका उम्मेद्वारलाई मतदान गर्ने सांसदको पहिचान गरी कारबाही गर्न पार्टि केन्द्रीय समितिअन्तर्गतको अनुशासन समितिसँग माग गर्ने निर्णय गरेको छ । संसदीय दलका तर्फबाट विस्तृत छानबिन गरी कारबाही गर्न आग्रह गरिएको पत्र आइतबारै केन्द्रिय अनुशासन समितिलाई पठाएको छ । कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले पार्टीको उम्मेदवारलाई मतदान नभएको विषयमा दलको बैठकमा गम्भीरताका साथ कुरा उठेको बताए ।