काठमाडौं : चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ ।
निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ देखि ७६ को बीचमा रहेको छ भने चार जनाको अन्यत्रै मृत्यु भएको छ ।
चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामी छन् । ५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् ।
कम्तीमा दुई हजार शैय्या क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदै छ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् । यसैबीच फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले चीन सरकारसँग भएको सम्झौतापछि यही हप्ताभित्र फ्रान्सेली नागरिकलाई हवाई जहाजको माध्यमबाट फ्रान्स ल्याउने तयारी भइरहेको बताए ।
अहिलेसम्म यो भाइरसको सङ्क्रमण अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ ।