ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा एनसेल टावरमा आगजनी शीर्षकको समाचार छापिएको छ । भोजपुर र मोरङको केराबारीमा रहेको एनसेल टावरमाथि बम विष्फोट गरिएको छ । अज्ञात समूहले आइतबार राति भोजुरको षडानन्द नगरपालिका ८ तुङ्छेवा र पौवादुम्मा गाउँपालिका १ श्यामशिलामा रहेको एनसेल टावरमा आगजनी गरिएको छ । तुङ्गेछामा गरिएको विष्फोटकबाट टावरमा सामान्य क्षति पुगेको षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले जानकारी दिए । टावर नजिकै रहेको कोदोको नल बालेर आगजनी गरेको उनले जानकारी दिए । पौवादुम्माको टावरमा भने क्षति नभएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यस्तै मोरङको केराबारी गाउँपालिका २ ट्यांग्रे डाँडाको एनसेल टावरमा क्षति पुगेको छ भने मोबाइल सेवा अवरुद्ध भएको जनाइएको छ । बम विष्फोटपछि एक समूहले नाराबाजी गर्दै हिडेको स्थानीयको भनाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ । यसअघि पनि केराबारी गाउँपालिकामा विष्फोट हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा चिसो कक्षा कोठामा विद्यार्थी शीर्षकको समाचार छापिएको छ । राज्यले गरेको लगानी अनुसार सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकिरहेको भन्ने आलोचनालाई विद्यालयहरुले विभिन्न बहाना देखाई सुधारलाई बेवास्ता गरिरहँदा सुनसरीको विद्यालयहरुमा पछिल्ला समयमा जाडोको नाममा देखिने दृष्यले सामुदायिक विद्यालयको अवस्थालाई उजागर गरेको छ । विद्यार्थी र शिक्षकहरुबीच अन्तरक्रियात्मक रुपमा अध्ययन अध्यापन कार्य हुनुपर्नेमा सुनसरीका सामुदायिक विद्यालयका शिक्षकहरुले चिसो कोठामा राखेर कालोपाटी खाली राखेर नाममा झारा टारेको पाइएको छ । स्थानीय तहको सरकारको मातहतका आएका सामुदायिक विद्यालयहरुम शिक्षा शाखाबाट अनुगमन मुल्याङ्कनसँगै दण्ड र पुरस्कारको व्यवस्था नहुँदा विद्यालयभित्रको शैक्षिक शिक्षकहरुको यस्तै तरिकाले खस्कने गरेको हो । शिक्षकहरुले विद्यार्थीहरुको पढाईलाई आफ्नो जिम्मेवारी भन्दा पनि जागिर खाने विषयको रुपमा मात्रै लिदा अधिकांश विद्यार्थीहरु विद्यालयबाट सिकाई सिकेर आउनेभन्दा दिनभर कक्षा कोठा र स्कुलको खुला चौरमा खेल्दै विद्यालय समय सकेर घर फर्कने गरेका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा उपचार गर्न जादाँ दुर्घटना शीर्षकको समाचार छापिएको छ । ओखलढुगां जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । नेपाली काँग्रेसका नेता तथा पुर्वसांसद रामहरि खतिवडाले हेलिकप्टरमार्फत घाइते सबैको उद्धार गरेका छन् । उनीहरुलाई उपचारकालागि उद्धार गरी काठमाडौं लगिएको हो । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार ओखलढुगांको सिद्धडाँडामा जीव दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने तीनजना गम्भीर घाइते भएका थिए । बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको थियो । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।