काठमाडौं : चिनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ६ पुगेको छ । चार हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्रा्ष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ ।
चिनियाँ नयाँ वर्ष ‘लुनार’ को समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो । यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् । भाइरस फैलिएपछि त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ ।
चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना नागरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ ।
वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान जस्तै भएको छ । खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ एम्बुलेन्स दौडिएको देख्न सकिन्छ ।
चीन सरकारले शङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालनमा प्रतिबन्ध लगाएको छ । चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्रतिबन्ध लागू हुनेछ । चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण चीनबाहिर कसैको पनि अहिलेसम्म मृत्यु भएको खबर सार्वजनिक भएको छैन ।