ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा प्रेमीसँग मिलेर श्रीमानको हत्या शीर्षकको समाचार छापिएको छ । मोरङको कटहरी गाउँपालिकाकी ३५ वर्षीया दयावती सरदारले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कटहरी गापा ७ का ३५ वर्षीय विकास सरदारको हत्या उनकी धर्मपत्नी दयावती र प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । श्रीमतीको परपुरुषसँगको अवैध सम्बन्ध नै विकासको हत्याको मुख्य कारण रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि दयावतीले प्रेमीसँग श्रीमानको हत्या गरेको बताइएको छ । विकासको शव टाउकोमा पछाडिपट्टी चोट लागेको अवस्थामा ग्रामथान गाउँपालिका ३ स्थित पानी जमेको खाल्डोमा माघ ६ गते सोमबार फेला परेको थियो । ‘शुरुमा दयावती र उनका प्रेमी बद्रीकै सल्लाह र योजनाअनुसार हत्याको योजना बनाएको पाइयो’ उनले भने, ‘उनीहरुलाई पछि स्थानीय ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारले पनि साथ दिएको खुलेको छ ।’ प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेपछि उनले दिएको बयानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

आजकै ब्लाष्टमा निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे शीर्षकको समाचार छापिएको छ । झापाको चारपाने अर्जुनधारा सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । सडक भत्किन थालेपछि अर्जुनधाराका स्थानीयले विरोध जनाएका छन् । उनीहरुले मंगलबार सरोवालालाई राखेर सोही स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरेका छन् । दातृसंस्था ट्रिपल आर को आर्थिक सहयोगमा सो सडक निर्माण हुँदै गरेको हो । साह इञ्जििनियरिङ एण्ड कन्ट्रक्सनले ५ करोड रुपैयाँको लागतमा कालोपत्रे गर्न ठेक्का लिएको ६ किलोमिटर सडकको लगभग १ सय मिटर बनाउन अझै बाँकी छ । सडकको उत्तर दिशामा कल्भर्ट निर्माण हुँदै गरेको कारण सडक बनाउन बाँकी रहेको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा सीमा सुरक्षामा गम्भिर बन्न सशस्त्रलाई निर्देशन शीर्षकको समाचार छापिएको छ । सुनसरीसँग जोडिएको नेपाल भारत सीमा क्षेत्रमा जोडिएको नेपाली भुमिको सुरक्षाका लागि गम्भिर बन्न सशस्त्र प्रहरी प्रदेश १ का बाहिनीपति नरेन्द्र बहादुर थापाले मातहतलाई उर्दी जारी गरेका छन् । सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको देवानगंज गाउँपालिकाको कप्तानगंजमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको नवनिर्मित भवनको उदघाटन गर्दै थापाले सीमामा सुरक्षा कायम गर्न र चोरी तस्करी नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् । कार्यक्रममा थापाले खुल्ला सीमा कारण चोरी तस्करी नियन्त्रण गर्न चुनौती भएकाले त्यसमा सशस्त्र सशस्त्र प्रहरीले भुमिका निर्वाह गर्नुपर्ने, अपराधिक गतिविधिमा ध्यान दिनुपर्ने, चोरी निकासी पैठारी कार्यलाई रोक्नुपर्नेमा जोड दिएका छन् । थापाले सीमापारीबाट सर्वसाधारणहरुले ल्याउने खाद्यान्न सामाग्री लगायतका मलखाद्यहरुमा केही सहज र सरलता कायम गर्नुपर्ने र सीमा तस्करीलाई कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा धर्मको नाममा व्यापार शीर्षकको समाचार छापिएको छ । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत पर्ने गिधनियाँ भन्ने ठाउँमा सीताराम नाम जप महायज्ञ सुरु भएको छ । देशका विभिन्न ठाउँमा यस्तै धार्मिक अनुष्ठानहरु भैरहेको बेला परम तपस्वी आत्मानन्द दास महात्यागी –चट्टी बाबा) का नामबाट गिधनियाँमा महायज्ञ सुरु भएकोहो । यस्तै चितवनस्थित नारायणी नदी किनारमा आफूलाई बाल योगेश्वर महाराज बताउने विजय भण्डारीले १०८ कुण्डीय कोटी होम गर्न लागेकोमा उनका ठगीका करतुतहरु सार्वजनिक भएपछि कोटी होम नै विथोलिएको छ । धर्मका आडमा गरिने कार्यक्रमहरु पैसा कमाउने नियतले मात्र गर्न लागिएको भन्ने भित्री रहस्य खुलेपछि त्यस्ता कार्यक्रमहरुप्रति जनविश्वास घट्दै गएको हो । यस्ता कार्यक्रमहरु धर्मका नाममा गर्ने गरिएपनि राजनितिक दलका ठूला नेताहरुको आडमा गर्ने गरिएको छ ।