ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा प्रभावकारी बन्दै मेलमिलाप नीति शीर्षकको समाचार छापिएको छ । उदयपुरमा मेलमिलाप नीति प्रभावकारी बन्दै गएको छ । मुद्दा मेलमिलाप नीति प्रभावकारी बन्दै गएको हो । सामान्य झै झगडामा पनि मुद्दा गर्दा ठूलो रकम खर्च हुने भएकाले मेलमिलाप नीतिले सहज बनाएको छ । स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा गठन भएका न्यायिक समितिले मुद्दा छिनोफानोभन्दा पनि दुबै पक्षलाई जित हुने गरी मेलमिलाप नीति अबलम्बन गरिनाले राम्रो समाज निर्माण गर्न टेवा पुगेको जिल्ला न्यायाधिश दिपक खनालले बताए । गाउँघरमा कुलो, पानी, सीमाना मिचिएको, घरझगडा, घरेलु हिंसालगायतका समस्यामा अदालतसम्म पुग्दा वादी प्रतिवादी आर्थिकरुपले कमजोर बन्दै गएको अवस्थामा यो कार्यक्रम प्रभावकारी बनेको न्यायाधिश खनालले बताए ।

औजार : आजको औजार दैनिकमा कोशी पर्यटन महोत्सवलाई सफल पार्न मोटरसाइकल र्याली शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकारले पाँच लाख पर्यटक र नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सन् २०२० लाई पर्यटन तथा भ्रमण वर्षको रुपमा घोषणा गरेकोमा यसलाई साकार पार्नका लागि कोशी टप्पुमा आज देखि कोशी पर्यटन महोत्सव हुने भएको छ । कोशीमा विभिन्न कार्यक्रमहरु, उत्सव तथा महोत्सव गर्ने भएको हो । सुनसरीको कोशी गाउँपालिकाले समेत सरकारको राष्ट्रिय र प्रदेश लक्ष्यलाई सार्थक पार्नका लागि नेपालको पहिलो रामसार सुचिमा सुचिकृत कोशी टप्पु वन्यजन्तु आरक्षमा आईतबार माघ १९ गतदेखि २९ गतेसम्म ११ दिने कोशी पर्यटन महोत्सवको आयोजना गर्दैछ । यसलाई सफल पार्नका लागि शनिबार मोटरसाइकल र्याली निकालिएको छ । । कोशी क्षेत्र पर्यटकिय क्षेत्र भएर पनि फस्टाउन नसकेको बेला कोशी पर्यटन महोतसवको सार्थक सन्देश दिने र प्रचारप्रसार समेत गर्ने गरि मोटरसाइकल र्याली निकालिएको गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा दुई वर्षदेखि नामकै चिन्ता शीर्षकको समाचार छापिएको छ । यही माघ २३ गतेबाट प्रदेशसभा बोलाईएको छ । प्रदेशसभाको आह्वानसँगै प्रदेशको नामाकरण के गरिएला भन्ने चर्चा पनि सुरु भएको छ । दुई वर्षमा पनि टुंगो लाग्न नसकेको नामकरणको विषय यो हिउँदे अधिवेशनबाट जसरी पनि टुंग्याउनु पर्छ भन्ने उद्देश्यले नामको बारेमा चर्चा सुरु गरिएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेसले नामका विषयमा सो दलबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुसँग राय लिइसकेको छ भने अन्य क्षेत्रबाट समेत राय लिने काम भैरहेको छ । तर सत्तारुढ दल तथा १ नम्बर प्रदेश सरकार भने यो विषयमा केही बोलिरहेको छैन । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन भएको दुई महिनापछि प्रदेश राजधानी र नामका विषयमा छलफल सुरु गरेका थिए । मुख्यमन्त्री राईले २०७५ साल वैशाख ६ गते प्रदेश संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल चलाएका थिए । त्यसको अर्को साल मात्र १ नम्बर प्रदेशले स्थायी राजधानी पायो । नामको भने अझै टुंगो लाग्न सकेको छैन ।