ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा विप्लव कार्यकर्ता खोज्दै प्रहरी शीर्षकको समाचार छापिएको छ । मोरङको उत्तरी क्षेत्रमा शृङ्खलाबद्ध विष्फोटका घटना हुन थालेपछि प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्तालाई खोज्न सर्च अभियानलाई निरन्तरता दिएको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएलगत्तै प्रदेश १ प्रहरीले विशेष टोली परिचालन गरेको थियो । पछिल्लो समय प्रहरीको कम उपस्थित भएको स्थानमा विध्वंसकारी गतिविधि हुन थालेपछि मोरङको उत्तरीक्षेत्रमा विप्लवको गतिविधि र उनीहरुलाई पक्राउ गर्न २४ घण्टा सर्च अभियान पुनः सुरु गरेको हो । मोरङ प्रहरीका डिएसपी मानबहादुर राईको नेतृत्वमा मोरङको उत्तरी क्षेत्रको मिक्लाजुङ र केराबारीमा गाउँपालिकाको विकट पहाडी क्षेत्रमा टोली परिचालन गरेको छ । डिएसपी राई नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता खोज्न र उनीहरुको गतिविधि बुझ्न सर्च असभयान सुरु गरेको हो ।

यसैगरी आजकै ब्लाष्टमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स शीर्षकको समाचार पनि छापिएको छ । गर्भवती र सुत्केरीको सुविधाका लागि संखुवासभाको खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ । नगरपालिकाले महिना र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ सेण्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक आहार प्रदान गर्ने भएको छ । आमा र बच्चालाई स्वस्थ राख्न र कुपोषित हुनबाट बचाउन बर्थिङ सेण्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले बाल पोषण पोको कार्यक्रम ल्याइएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा स्कुल बसलाई कारबाही गर्ने शीर्षकको समाचार छापिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई कारबाही गर्ने अभियानलाई तिब्रता दिएको छ । पछिल्लोपटक ट्राफिक प्रहरीले त्यस्ता १९ वटा स्कुल बसलाई कारबाही गरेको हो । सिट क्षमताभन्दा बढी विद्यार्थीहरुलाई स्कुल बसले कोचेर विद्यालय लैजानुसमेत ट्राफिक नियमको उल्लंघन भएको भन्दै ट्राफिकले हरेक दिन बिहानै स्कुल बस माथिको छड्केजाँचलाई तिब्रता दिएको हो । कार्यालय विराटनगरका प्रमुख राकेश पोद्दारका अनुसार क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बसहरुमाथि चोकचोकमा चेकजाँच गरी आवश्यक कारबाही अघि बढाइएको हो । स्कुल बसको सिट क्षमताभन्दा बढी भएका विद्यार्थीहरुलाई झारेर अर्को पटक लैजान अनुरोध गर्ने गरिएको छ । त्यसैगरी विहान स्कुल कलेज जाने समयमा विना सवारीसाधन अनुमतिपत्र मोटरसाईकल चलाउने विद्यार्थीहरुमाथि समेत छड्केजाँच तीब्र पारिएको छ ।

आजको उद्घोषमा स्ववियु निर्वाचनमा भाग लिन्छौँः अध्यक्ष ढुंगाना शीर्षकको समाचार छापिएको छ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताए । ‘हामी मनोनित हुँनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन हो’ उनले भने, ‘‘निर्वाचनमा सक्रिय भाग लिएर सफल बनाउछौँ ।’ उनले निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको समेत जानकारी गराए । उनले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिविलाई आग्रह गरे । त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । विसं २०७३ मा २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । अनेरास्ववियुका संयोजक ऐन महरले निर्धा्रित मितिमा नै स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले निर्वाचन हुने बताए । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले चाडै नै त्रिविले निर्वाचनका सम्बन्धमा सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गर्ने बताए । यसअघि त्रिविले फागनु १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरूप हुनेछ ।