औजार : आजको औजार दैनिकमा प्रदेश सभालाई नाम जुराउन सकस शीर्षकको समाचार छापिएको छ । प्रदेश सभाको स्थापना भएको दुई वर्ष पुरा भएको छ । प्रदेश १ को प्रदेश सभा बसेको बैठक १ सय ८२ घण्टा ८ मिनेट बसेको छ । प्रदेशको संसदीय अभ्यास शुरु भएको २५ महिना पुरा भएको छ । प्रदेशसभाको स्थापनासँगै शुरु भएको प्रदेशको संरचना र कानुन निर्माणको कुरा पनि तिब्र गतिमा अगाडी बढेको बताइन्छ । प्रदेश १ सभाबाट सदन संचालन भएको दिनको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेशसभाले अहिलेसम्म गरेको गतिविधिको बारेमा जानकारी दिइएको छ । प्रदेशसभाबाट अहिलेसम्म ३९ वटा कानुन निर्माण भइसकेको र पाँचौ अधिवेशनका लागि ४ वटा विधेयक टेबुल भएको प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । प्रदेश सभाको दुई वर्ष पुरा गरेको भएपनि यो अवधिमा प्रदेश सभाबाट प्रदेशले अझै पहिचान पाएको छैन । अहिले पनि प्रदेशको नामका विषयमा प्रदेश १ नै भनेर चिनाउनु पर्दा प्रदेश १ सभाका सभामुख प्रदिपकुमार भण्डारी लाई पनि चित्त बुझेको छैन । तर उनले यो अवधिमा धेरै राम्रा काम भने गरेको बताए ।

आजको औजार दैनिकमा जिजय कुमार गच्छदार सांसदबाट निलम्बित शिर्षकको अर्को समाचार पनि छापिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा स्रसदमा जान पाउने छैनन् । ष्दि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ । राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवर हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्द्रीय सदस्य समेत हुन पाउदैन । यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा मेयरद्वारा शिक्षकको तलब रोक्का शीर्षकको समाचार छापिएको छ । भोजपुरको षडानन्द नगरपालिकाका मेयर बीरबल राईले षडानन्द माविका प्रधानाध्यापक र शिक्षकको तलब रोकिदिएका छन् । नगरको निर्णय विपरीत शिक्षक पदस्थापन गरेको भन्दै राईले प्रध्यानाध्यापक गोपाल तिमल्सिना र शिक्षक गंगाबहादुर बुढाको तलब भत्ता रोकिदिएका छन् । योग्यताक्रम अनुसार गत कार्तिक ८ गते धर्मराज चौहानलाई नीतिपूर्वक पदस्थापन गरिएपनि नगर शिक्षक समितिको निर्णय विपरित भएको भन्दै मेयर राईले तलब भत्ता निकासा गर्न नमिल्ने बताए । शिक्षक सेवा आयोगले लिएको परिक्षामा उतीर्ण ६२ जना शिक्षकमध्ये षडानन्द नगरपालिकामा १६ जना शिक्षकलाई पदस्थापन गरिएको थियो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा कोशीटप्पु वन्यजन्तु आरक्षमा घरपालुवा जनावरको हैरानी शीर्षकको समाचार छापिएको छ । पूर्वी तराईमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बाहिरको पशु आरक्षभित्र ठुलो संख्यामा रहँदा संरक्षित वन्यजन्तु संकटमा परेका छन् । विश्वमै दुर्लभ जंगली भैंसी अर्नाको संरक्षणका लागि २०३२ सालमा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष सप्तकोशी नदीको किनारमा छ । यो आरक्षको ७५ प्रतिशत सप्तरी, १० प्रतिशत उदयपुर र १५ प्रतिशत भूभाग सुनसरी जिल्लामा पर्दछ । कोशी नदीको किनारामा रहेकोले गर्दा आरक्ष स्थापनादेखि नै घर पालुवा वस्तुहरु आरक्ष क्षेत्रमा रहेको बताइएको छ । आरक्षमा वन्यजन्तु बढ्नुको साटो घरपालुवा जनावरहरुको संख्या दिनानुदीन बढ्दै गएको कोशीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ । आरक्ष स्थापना हुँदादेखि नै स्थानीयको चरीचरण र घरपालुवा जनावरहरु आरक्ष क्षेत्रमा रहेको हुनाले अहिले पनि घरपालुवा जनावरहरु गाई गोरु, राँगा भैसी आरक्षभित्र अत्याधिक छन् ।