रंगेली : प्रसुति गराउन आएकी महिला र बच्चाको मृत्यु भएपछी सोमबार दिनभर रंगेली अस्पताल तनावग्रस्त बनेको छ ।

रंगेली नगरपालिका ९ दोहमनाकी २५ वर्षिय रविना सरदारको प्रसुति गराउने क्रममा बच्चा र उपचारका क्रममा आमाको समेत मृत्युभएपछी रंगेली अस्पताल दिनभर तनावग्रस्त बनेको हो । मृतकका आफन्तजनहरुले डाक्टरको लापरबाहीका कारण आमा र बच्चाको मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्नहरुमाथि कारबाहीको माग गरेको छन् ।

सोमबार विहानै ६ बजे व्यथा लागेपछी प्रसुति गराउनका लागी सरदारलाई रंगेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले दिउँसो पौने १२ बजे सुत्केरी गराउने क्रममा मृत बच्चा जन्मीएपछी आमाको स्वास्थ्य अवस्था थप गम्भीर हुँदा समेत डाक्टरले लापारवाही गरी उपचार गर्दा आमाको समेत मृत्युभएको आफन्तले बताएका छन् ।

मृतक सरदारकी ठुलोबुबा रामनारायण सरदारले अस्पतालले समयमै रेफर नगरेको र पछी ढिलो गरी रेफर गर्दा एम्बुलेन्स लिएर विरामीलाई विराटनगर लैजान खोज्दा पुनः विरामीलाई नदिई प्रसुति गराउँदा बच्चा र आमा दुबैको मृत्युभएको बताए । यता रंगेली अस्पतालका निमित्त मे.सु. अशोक ठाकुरले सरदार प्रसुति गराउन आउदाँ शुरुमा ठिकै रहेको र करिव १० बजेको समय ब्लड प्रेसर एक्कासी कमि भई आमा अचेत हुन पुगेपछी प्रेसर ठिक गरेर रेफर गर्नेक्रममा आमाको पाठेघरको मुख खुलेर बच्चा हुने अवस्था भएपछी पुनः प्रसुती गराउँदा आमा र बच्चाको साल छुट्टीने बेलामा एम्योलिक फुयुड इन्बोलिजमका कारण आमालाई समेत असर भएको हुनसक्ने बताए ।

उनले बच्चा जन्मदाँ घड्कन नभएपछी करिव ४५ मिनेट सिपिआरमा राखेर उपचार गराउदाँ समेत बच्चा नफर्किएको जानकारी दिए । घटना पश्चात अस्पतालमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आफन्तले बच्चा र आमाको शव बुझेका छैनन् ।