ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स पुल अलपत्र छोडेर ठेकेदार गायब शीर्षकको समाचार छापिएको छ । सातवर्ष अघिदेखि मोरङको केराबारी गाउँपालिका ९ बेलाचौरीस्थित तुर्के खोलाको पुल निर्माण सुरु गर्ने ठेकेदार गायब भएका छन् । केराबारीदेखि धनकुटा जिल्ला जोड्ने तुर्के खोलाको निर्माणाधिन पुल अलपत्र छोडेर निलगिरी कन्ट्रक्सनका ठेकेदार युवराज डाँगी सम्पर्कविहीन भएका हुन् । संघीय सरकारले विनियोजन गरेको ५ करोड ५५ लाख रुपैया बजेटमा २०६९ सालदेखि निलगिरी कन्ट्रक्सनले पुलको निर्माण सुरु गरेको केराबारी गाउँपालिका ९ का वडाध्यक्ष भूपतिन्द्रप्रताप मल्लले जानकारी दिए । ३ हजार घरपरिवार आवतजावत गर्ने पुलको निर्माण दुई महिनादेखि ठप्प बनाएर ठेकेदार बेपत्ता भएको वडाध्यक्ष मल्लले बताए । पुल निर्माण शुरु गरेको सातवर्ष वितिसक्दा पनि हाल पिलर मात्र उठाएको छ । ठेकेदार पुल निर्माण कार्य छोडेर सम्पर्कविहिन भएपछि केराबारी गाउँपालिकाका स्थानियले तीनवटा बस रिजर्भ गरेर विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि बिहीबार धर्ना दिएका छन् । ठूलो संख्यामा आएका स्थानीयले करिब एक घण्टा धर्ना बसेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझाए ।
औजार : आजको औजार दैनिकमा ‘दलित बुहारीलाई घर प्रवेश रोक, न्यायको माग’ शीर्षकको अर्को समाचार पनि छापिएको छ । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाकी एक महिलाले आफू दलित भएको कारणले सासु ससुराले विवाह गरेको तीन वर्षदेखि घर पस्न नदिएको गुनासो गरेकी छन् । चार वर्ष अगाडी नै पण्डितसँग विवाह गरेको २५ वर्षीया पुनिता देवि रामले आफू गैर दलितसँग विवाह गरेको कारणले घर पस्न नदिएको बताईन् । उनले फागून १५ गते मात्रै अन्तिम पटक ससुरा ५२ वर्षीय जगुनारायण पण्डित, सासु ५० वर्षीया मोहनीदेवि पण्डित र २३ वर्षीया राजकुमार पण्डित लगायतले विवाह गरेदेखि नै तीन वर्षदेखि घर पस्न नदिएको गुनासो गरिन् । घरमा विवाह गरेर घरमा पस्न नदिएकाले तीन वर्षदेखि माईतीमा श्रीमान समेतलाई राखेर बस्दै आएको र समाजले ससुराली जान भनेकाले आएकोमा घर पस्न नदिएको रामले बताए । पण्डित परिवारले घर पस्न नदिएको, तिम्रो पानी नचल्ने भन्दै दलित महिलाले हाम्रो केही छुन पाउँदैनन् भन्दै मानसिक तनाव दिएको बताईन् ।
कोशीपत्र : आजको कोशीपत्र दैनिकमा प्रदेश नामाकरणमा कांग्रेसको चासो शीर्षकको समाचार छापिएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश १ को नाम टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गरेको छ । प्रदेशसभाको विहीबारको बैठकमा विषेश समयमा बोल्दै विपक्षी दलका नेता राजिप कोइरालाले ‘प्रदेशको नाम के हुने ?’ भन्दै प्रश्न गरे । उनले नामाकरणको सम्बन्धमा सांसदहरुबाट समेत प्रष्ट कुरा नआएको बताउँदै भने ‘के कुराले रोकेको छ, हामीले किन कुनै नाम राख्न सकेनौं ?’ कोइरालाले पहिचानको आन्दोलनलाई जातिय, स्वायत्त राज्य दिन्छु भन्नेहरुले अब खुलेर छलफल गर्नुपर्ने बताए । उनले भने, ‘प्रस्ताव राख्नु पर्यो । केहीगर्न नसकेपछि साँझा पहिचान वा द्धन्द्ध भएपनि छलफल होस, मोही माग्ने ढुंग्रो लुकाउने काम हुनु हुन्न, अल्मल्याएर राख्नु हुदैन, मुख्यमन्त्रीको ध्यानाकर्षण गर्दछु ।’ प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापन हेर्ने गरेको र मन्त्रालयबाट ७० एम्बुलेन्स र वारुणयन्त्र खरिद प्रक्रिया तथा वितरणमा आफूहरुको चासो रहेको कोईरालाले बताए ।


































































