धरान : प्रदेश नम्बर १ का विवाहित महिलाहरुलाई लक्षित गरि वुमन वर्थ ग्रुपले आयोजना गरेको मिसेस स्टेट १ सिजन ३ को पहिलो चरणको अडिसन शनिबार धरानमा सम्पन्न भएको छ ।
धरान ९ पुतली लाइनमा रहेको हाङकुक साराङ्गमा भएको पहिलो चरणको अडिसनमा ४५ जनाले सहभागिता जनाएका थिए । सहभागी मध्येबाट २५ जना छनौट भएका छन् । शनिबार भएको अडिसनबाट छनाट भएको नतिजा भने आइतबार मात्र निकालिएको छ ।
अडिसनका निर्णायकमा कोरियोग्राफर डिजे ललित राई, महिला संजाल धरानकी अध्यक्ष तथा महिला अधिकारकर्मी सबिता चाम्लिङ राई, मिसेस स्टेट १ सिजन २ की विजेता पुष्पकला फोम्बो, मिस कोशी १९९८ तथा धरान फिट्नेस क्लबका संचालक कृति श्रेष्ठ र गायक डिल्ली फोम्बो रहेका थिए ।
अडिसनका बेला बोल्दै ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठले समाजको विकासका लागि विवाहित महिलालाई नेतृत्व पङ्तीमा ल्याउन जरुरी रहेको बताए । यसै कुरालाई मध्यनजर गरी विगत ३ वर्ष अघि विवाहित महिलाहरूको समुह वुमन वर्थ ग्रुप गठन गरी निरन्तर रूपमा विभिन्न सामाजिक कार्य संगै यस प्रतियोगिता समेत आयोजना गरीरहेको बताए ।
उनले भने, ‘एउटा विवाहित महिला संग एउटा परीवार जोडिएको हुन्छ जसको नेतृत्व उसले गरेको हुन्छ । विवाहित महिलाले पनि समाजको विकासका लागी काम गर्न सक्छ तर त्यसको लागी उसलाई नेतृत्व पंतीमा ल्याउन जरूरी हुन्छ ।’ त्यसै उद्देश्यका साथ विवाहित महिलाहरूको क्षमता विकास संगै नेतृत्व पंतीमा उभ्याउनका लागी यस मिसेस स्टेट १ आयोजना गरीएको हो ।
श्रेष्ठले यस प्रतियोगितालाई नयाँ कुरा सिक्ने माध्यमको रूपमा लिन आग्रह गर्दै तेश्रो संस्करण सम्म आइपुग्दा यस प्रतियोगिता सबै प्रकारबाट वृहत हुँदै गइरहेको बताए ।
अडिसनमा छनाट भएको प्रतियोगिहरूलाई २० दिन सम्म विभिन्न विषयमा तालिम प्रदान गरीने ग्रुपका सचिव छाँया श्रेष्ठले बताए । तालिमाका लागी सम्बन्धित विषयका अनुभवी प्रशिक्षकहरूबाट तालिम दिइने समेत उनले बताए ।
पहिलो चरणको अडिसनमा आउन नपाएको र अन्य इच्छुकहरु जो अडिसनमा आउन छुटेका छन उनिहरुको लागि दोस्रो अडिसनको समेत आयोजना गरीने वुमन वर्थ ग्रुपकी उपाध्यक्ष उमा ताम्राकारले जानकारी दिएकी छन् । दोश्रो अडिसन फागुन २१ गते बुधबार विहान १० बजेदेखि हाङकुक साराङमा हुने ताम्राकारले जानकारी गराए ।
प्रतियोगीताको मुख्य विजेताले नगद १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्रान्ड फिनाली चैत्र १५ गते हुनेछ ।


































































