धरान : ‘कुटुम्ब ब्यान्ड’को धरानमा पहिलो पटक पासा खलः धरानसँग साङ्गीतिक सहकार्यमा नेवारी सङ्गीतको मौलिक वाद्यवादन सहित लाइभ कन्सर्ट हुने भएको छ ।
भदौ ५ गते धरानको भानुचोकमा ‘ईकोस अफ हेरिटेज’ साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको हो ।कन्सर्ट नेपालको मौलिक बाजा,संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन कार्यको प्रस्तुतिका रूपमा पासा खलः धरानले आयोजना गरेको हो ।कार्यक्रममा वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहनेछ।
उनको ‘अरबौँ मान्छे हरूमा तिमी एक मन मिल्ने मान्छे’ र ‘सय थरी बाचा एउटै ताल’ प्रस्तुतिबाट कार्यक्रम शुभारम्भ गरिने आयोजकले जनाएको छ । साथै उनको स्विटर कि गायिका सबिना बिकको समेत प्रस्तुति रहने छ ।
पासा खलका महासचिव अमृत श्रेष्ठले काठमाडौँ बाहिर कुटुम्ब ब्यान्डसँग हुन लागेको यो पहिलो साङ्गीतिक सहकार्य भएको बताए । नेपालका मौलिक वाद्यवादनलाई देश तथा विदेशका विभिन्न शहरमा प्रस्तुत गर्दै आएको कुटुम्ब ब्यान्डसँग पासा खलःले नेवारी बाजासहित सहकार्य गर्न लागेको हो ।
कार्यक्रममा धिमे लगायतका मौलिक बाजाका साधक तथा कलाकारहरूको प्रस्तुति रहने उनले बताए । उनका अनुसार धनकुटा सहित पूर्वका पाँच जिल्लाबाट धिमे तथा अन्य मौलिक वाद्यवादनसँग सम्बन्धित कलाकारहरू साङ्गीतिक कार्यक्रममा सहभागी हुनेछन् ।
सहभागी जिल्लाहरूमा खोटाङ, झापा, धनकुटा, इटहरी लगायत रहेको बताइएको छ । कार्यक्रमको उद्देश्य लोप हुँदै गएका मौलिक बाजा तथा सांस्कृतिक परम्पराबारे जागरण फैलाउनुका साथै वाद्यवादनलाई व्यावसायिक रूपमा अघि बढाउने सम्भावनाको खोजी रहेको बताइएको छ ।






































































