सुनसरी : नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्यले आगामी कार्तिक १८ गते इटहरीमा प्रस्तुति दिने भएको छ। पूर्वाञ्चल इभेन्ट्स प्रालि इटहरीको आयोजनामा हुने कन्सर्ट इटहरी रंगशालामा आयोजना गरिनेछ।

आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक राजकुमार कार्कीका अनुसार कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। कन्सर्टको तयारी तीव्र गतिमा अघि बढिरहेको उनले बताए।

कन्सर्टका लागि टिकट बिक्री सुरु भइसकेको छ। सामान्य तर्फ टिकटको मूल्य १,५०० रुपैयाँ, अर्ली बर्ड योजनाअन्तर्गत १,००० रुपैयाँ तथा विद्यार्थीका लागि पनि १,००० रुपैयाँ निर्धारण गरिएको छ।

‘नेपथ्यलाई पहिलो पटक इटहरीमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ। दर्शकलाई उत्कृष्ट साङ्गीतिक अनुभव दिलाउने गरी तयारी गरिरहेका छौँ,’ कार्कीले भने।

कन्सर्टको टिकट nepathya.com.np बाट अनलाइन खरिद गर्न सकिने साथै इटहरी–४, आइतबारे स्थित दुर्गा पार्टी प्यालेसमा रहेको कन्सर्ट सचिवालयबाट पनि खरिद गर्न सकिने आयोजकले जनाएको छ।

गायक अमृत गुरुङको नेतृत्वमा रहेको नेपथ्यले विगत तीन दशकदेखि नेपाली सङ्गीत क्षेत्रमा निरन्तर प्रस्तुति दिँदै आएको छ। संगीतप्रेमीलाई एउटै मञ्चमा उत्कृष्ट साङ्गीतिक अनुभव दिलाउने उद्देश्यसहित इटहरीमा नेपथ्यको कन्सर्ट आयोजना गरिएको आयोजकको भनाइ छ।

nepathya itahari