धरान : आषाढ शुक्ल हरिशयनी एकादशीका दिनमा घरघरमा तुलसीको बिरुवा सारि विशेष पूजा शुरु गरिन्छ । मोठमा राखिएको तुलसीको बिरुवा मोठमा सार्ने चलन छ ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल पक्षको एकादशी लाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ ।
यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म चातुर्मास पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई देवशयनी तथा कार्तिकशुक्ल एकादशीलाई प्रबोधिनीु एकादशी भनिन्छ ।
 तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो ,भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। मानव उपयोगी वनस्पति भएकाले यो वनस्पतिलाई भगवान् विष्णु वा उनको प्रिय वस्तुका रूपमा पूजा गरिएको तर्क गर्नेहरू पनि छन्।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































